Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आफ्नो लागि एकजोर चप्पल बनाएकी सुस्माले मारिन् व्यापारिक फड्को / विदेशसम्म पुग्यो ब्राण्डीङ

आफ्नो लागि एकजोर चप्पल बनाएकी सुस्माले मारिन् व्यापारिक फड्को / विदेशसम्म पुग्यो ब्राण्डीङ

काठमाडौँ । बजारमा राम्रो डिजाइनको चप्पल देख्नुभयो भने के गर्नुहुन्छ? किन्नुहुन्छ? वा आहा मात्र भनेर छाड्नुहुन्छ।हामी अधिकांशले यसै गर्छौं। तर पोखराकी सुस्मा श्रेष्ठलाई यतिले मात्र चित्त बुझेन। चार वर्षअघिको कुरा हो। उनी गोरखा बजार घुम्न गएकी थिइन्। बजारमा आकर्षक डिजाइनको (चप्पल) देखिन्। मनपर्‍यो, किनिन्। किनेर मात्र पनि पुगेन, त्यस्तै राम्रो डिजाइनको चप्पल आफैं बनाउन सके हुन्थ्यो जस्तो उनलाई लाग्यो। त्यसपछि उनले गोरखामै चप्पल बनाउने तालिम लिईन् र उनलाई एक दिनको सिकाइ नै काफी भयो।'

पोखरा फर्केर चप्पल बनाउन आवश्यक सामग्री किनिन्। कच्चा वस्तु जुटाइन्। आफ्नै घरमा चप्पल बनाउने अभ्यास गरिन्। पहिलोपटक उनले दुई जोर चप्पल बनाइन्। उनको रहर पूरा भयो। त्यसपछि उनले केही आफन्त र साथीहरूले यसैलाई व्यवसाय बनाउन सुझाव दिए। केहीले आफुलाई पनि बनाइदेऊ भने। उनलाई पनि सुझाव ठिकै हो कि जस्तो लाग्यो। केही जोर चप्पल बनाएर देखाइन्। व्यापार हुने लक्षण देखियो। उनको हौसला बढ्यो। तर मुख्य समस्या थियो पैसाको। 'चप्पलको कच्चा पदार्थ महँगो हुन्छ। एकै पटक धेरै जोरका लागि सामान किन्ने पैसा थिएन,' उनले भनिन्, 'एक-दुई जोर बनाउँदै बेचेँ। त्यसबाट जम्मा भएको पैसाले उत्पादन बढाउँदै लागिन् र नपुग्दा कहिलेकाहीँ आमाको सहयोग पनि लिइन् ।

यसरी करिब ६ महिना काम गरेपछि जम्मा भएको पैसाले अलि बढी सामान जोडिन्। दुई-चार जोर गर्दा गर्दै चप्पल बनाउनमै व्यस्त हुन थालिन्। व्यापार बढ्न थाल्यो। उनले बनाएको चप्पल मन पराएर धेरैले यसकै व्यवसाय गर भनेका थिए । सुरूमा त एक्लैले गरेर के होला र, कसले किन्ला र जस्तो लागेको थियो। तर अर्डर बढ्दै गयो,' अनि उनको सपना पनि पुरा हुदै गयो /उनले व्यापारिक फड्को मार्न थालिन् । दिनकै तीन-चार जोर चप्पल बन्न थालेपछि उनले टिकटक भिडिओ बनाइन्। त्यही भिडिओ उनको व्यापारमा कोशेढुंगा भइदियो। चप्पलको अर्डर आउन थाल्यो। एक दिन त एकै ठाउँबाट १२ जोर अर्डर आयो। चार दिनमा तयार गरेर दिइन्। यस्तै अलिअलि अर्डर पूरा गर्दै झन्डै दुई वर्ष बित्यो। त्यसपछि भने उनी व्यावसायिक रूपमै अघि बढिन्। आफ्नै प्रयासले चप्पलका डिजाइन सिकिन्। उपकरणहरू चलाउन अभ्यस्त भइन्।

व्यापार बढ्दै गएपछि उनले अरेन्ज हस्तकला उद्योग नाम राखेर दर्ता गरिन्। चप्पलका लागि भने 'अरेन्ज ह्यान्डमेड स्लिपर्स' जुराइन्। आफूलाई अरेन्ज (सुन्तले) रङ मनपर्ने र हातैले बनाउने भएकाले 'ह्यान्डमेड' शब्द राखीन्।

इन्स्टाग्राममा पेज बनाएर उनले चप्पलका फोटा पोस्ट गरिन्। अर्डर बढ्न थाल्यो। सामान पुर्‍याउन आफैं गइन्। इन्स्टाग्राममा पेज बनाएपछिको एक वर्ष यसरी नै चल्यो। त्यसपछि डेलिभरी कम्पनीसँग सहकार्य थालिन्। आजकाल उनी महिनाको तीन सय जोर चप्पल बेच्छिन्। अरेन्ज ह्यान्डमेड स्लिपर्सको सानो कारखाना पोखराको ड्यामसाइटस्थित आफ्नै घरमा छ। प्रचार सामाजिक सञ्जालबाटै हुन्छ। आफैंलाई लगाउन चप्पल बनाउँदा बनाउँदै धेरैले रूचाएपछि व्यवसाय नै भयो,' सुस्माले भनिन्, 'आफ्नै घरको एउटा कोठामा बनाउँछु र त्यहीँ प्याकिङ गर्छु।'

उनी महिनाभरिमा सरदर तीन सय जोर चप्पल एक्लै बनाउँछिन्।उनले बनाएको एक जोर चप्पलको मूल्य पाँच सय रूपैयाँदेखि एक हजार दुई सय रूपैयाँसम्म छ। उनले भनिन्, 'धेरैले रूचाउनुभएको छ तर माग पूरा गर्न सकेको छैन।'

सुस्मा मागअनुसार खुट्टा नापेर ग्राहककै डिजाइनअनुसार पनि चप्पल बनाइदिन्छिन्। मौसमअनुसार डिजाइन र रङमा विविधता छ। गर्मी मौसम र चाडपर्वका समयमा माग बढी हुन्छ। बजारबाट कच्चा वस्तु जुटाउने, सिलाइ गर्ने, प्याकिङ गर्ने, अर्डर लिने लगायत सबै काम आफैं गर्दा उनलाई भ्याइनभ्याइ हुन्छ। हरेक दिन बिहान ६ बजेदेखि राति अबेरसम्म काममै व्यस्त हुन्छिन्।

उनी एक दिन सोल र लेदर काटेर तयार गर्छिन्। अर्को दिन टाँस्ने र सिउने काम गरेर चप्पल तयार हुन्छ। यसपछि प्याकिङ गर्छिन्। दुई दिनमा सामान्यतया २० जोर चप्पल बनाउँछिन्। अहिलेसम्म उनले बनाएका चप्पल सामाजिक सञ्जालबाटै बिक्री भएको छ। पोखराका केही होलसेल पसलहरूले पनि राखेका छन्। उनको व्यापार पोखरामा मात्र सीमित छैन। बुटवल, विराटनगर, भरतपुर, काठमाडौं लगायत सहरमा पुगेको छ। विदेशमा रहेका नेपालीहरूले पनि मगाउँछन्। जापान, कोरिया, दुबई, अस्ट्रेलिया र क्रोएसियामा उनले चप्पल पठाइरहेकी छन्।'आफ्नै लागि भनेर चप्पल बनाएकी थिएँ। यही व्यवसाय भएर विदेशसम्म पुग्ला, व्यापार होला भनेर त सोचेकै थिइनँ,' उनले भनिन्, 'मैले बनाएको चप्पल पाँचवटा देशमा पुगेको छ।'

अहिले आसपासका केही दिदीबहिनीहरू उनीसँग काम सिक्न आउने गरेका छन्। चाँडै सहयोगीहरू राखेर अघि बढ्ने तयारी उनको छ। चप्पलको डिजाइन थप्दै जाने र शोरूम (पसल) खोल्ने योजना पनि बनाएकी छन्। उनी भन्छिन्, 'ख्यालख्यालमा सुरू गरेकी थिएँ। मेहनतमा हौसला पाएँ। अब आफ्नो ब्रान्ड बनाएर अघि बढ्छु।'