काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिका–२६ सुगौलीमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ। घटनापछि विकास निर्माणका क्रममा अपनाइएको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।
मृत्यु हुनेमा स्थानीय प्रभु ठाकुरकी ५ वर्षीया पुच्की ठाकुर र ३ वर्षीया घघरी ठाकुर रहेका छन्। सोमबारदेखि हराइरहेका दुवै बालिकाको शव मंगलबार बिहान निर्माणाधीन पुल नजिकैको पानी जमेको खाल्डोमा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार बालिकाहरू सोमबार हजुरबुवासँग खेतमा गएका थिए। केही समयपछि उनीहरू सम्पर्कविहीन भएपछि परिवार र स्थानीयले रातभर खोजी गरेका थिए। आमाले इलाका प्रहरी कार्यालय सुगौली बिर्तामा हराएको जानकारी दिएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
खोजीका क्रममा उनीहरू हराएको स्थानबाट करिब ५०० मिटर पूर्व रहेको निर्माणाधीन पुलको खाल्डोमा शव फेला परेको हो। वर्षाका कारण पानी भरिएको उक्त खाल्डोमा खसेर डुबेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ। शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ भने घटनापछि स्थानीयले निर्माणस्थलमा सुरक्षा व्यवस्था नअपनाइएको भन्दै गम्भीर चासो व्यक्त गरेका छन्।