Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आग्रह , नियमको उल्लङ्घन गरेमा कारवाही गर्ने । के- के बन्द भयो त ?

स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आग्रह , नियमको उल्लङ्घन गरेमा कारवाही गर्ने । के- के बन्द भयो त ?

जिल्ला प्रशासन कार्यालयले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गरी कोरोनाका कहरका कारण मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको हो । मन्त्रिपरिषद्को निर्णयबमोजिम भरतपुर महानगरपालिकाभित्र रहेका शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र यही वैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ । यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाबाहेक अन्य परीक्षा सञ्चालन गर्दा आलोपालो प्रणालीअनुसार सञ्चालन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भीड हुने अन्य सबै कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ ।

मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै नित्य पूजा, ध्यान र प्रार्थना मात्रै गर्ने गराउने, सपिङ मल, डिपार्टमेन्टल स्टोरमा एकपटकमा पच्चीस जना भन्दा बढी मानिस जम्मा नहुने, दुई व्यक्तिबीचको दूरी दुई मिटर कायम गर्न, मास्क अनिवार्यरुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा हस्ताक्षर गरिएको सूचनामा मेला, महोत्सव, जात्रा, विवाह न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान मलामीलगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा पच्चीस जनाभन्दा बढी नहुन र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ । विवाह व्रतबन्ध गर्दा पार्टी प्यालेस प्रयोग गर्नुपरेमा मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीसँग पूर्वस्वीकृति लिनसमेत अनुरोध गरिएको छ ।

सार्वजनिक यातायातका सवारी साधनमा सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनमा नियमित स्यानिटाइजरको व्यवस्था गर्नसमेत सूचनामा अनुरोध गरिएको छ । कार्यालय र पसलजस्ता सार्वजनिकस्थलमा स्यानिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्न, सार्वजनिक तथा निजी सेवा प्रदायकले विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्न, होटल तथा रेष्टुराँ बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । नियमको उल्लङ्घन गरेमा सङ्क्रमण रोग ऐन २०२० बमोजिम कारवाही तथा सजाय हुने सूचनामा जनाइएको छ ।