Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रंगशाला क्वारेन्टिनलाई नदिन आग्रह !

रंगशाला क्वारेन्टिनलाई नदिन आग्रह !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वामित्वमा रहेको नेपालको एक मात्रै अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको मैदानलाई क्वारेन्टिनका लागि नदिन माग गरेका छन् ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरणका लागि दशरथ रंगशालाको मैदानमा क्वारेन्टिन बनाउने र त्यहाँको अवस्थाबारे एक टोलीले अवलोकन गरेर फर्किएको चर्चा चलेपछि अध्यक्ष शेर्पाले त्यसलाई नराम्रो खबर भन्दै मैदानलाई क्वारेन्टिनका रूपमा प्रयोग गर्न नदिन राखेपसमक्ष माग गरेका हुन् ।

‘दशरथ रंगशालामा छिर्दै गर्दा एउटा नराम्रो खबर सुनें । हामीले रंगशालाको मैदानलाई लकडाउनको समयमा पनि निरन्तर मर्मत सम्भार गरिरहेका छौं । अन्तर्राष्ट्रियस्तरको रंगशालामा बनाउने हो भने क्वारेन्टिन बनाउन नदिनका लागि सदस्य सचिवले प्रयास गर्ने विश्वास गरेका छौं,’ अध्यक्ष शेर्पाले भने, ‘यदि क्वारेन्टिन राखेको खण्डमा हप्ता–दस दिनभित्रै घाँस उप्किन्छ । मैदान बनाउन फेरि जिरोबाट सुरु गर्नुपर्ने हुन्छ । मैदानको स्तर नपुग्दा मंसिरमा कुवेतसँगको घरेलु मैदानमा हुने भनिएको खेल भुटानमा सारिएको थियो त्यसैले सदस्य सचिवसमक्ष कम्तीमा मैदानमा क्वारेन्टिन नराखेर अन्य स्थानमा राख्न अनुरोध गर्दछु ।’

यस्तै, अध्यक्ष शेर्पाले मैदानको विकल्प दिन एन्फा तयार रहेको बताउँदै क्वारेन्टिनका लागि स्कुल तथा कलेजलाई अनुरोध गर्न सकिने बताए । यसअघि एन्फाले रौतहटको महिला फुटबल एकेडेमी र बुटवलको एन्फा टेक्निकल सेन्टर भने क्वारेन्टिनका लागि उपलब्ध गराएको थियो । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको नेपालको अन्तर्राष्ट्रिय रंगशाला गत मंसिरमा भएको १३औं सागका लागि पुनर्निर्माण गरिएको थियो । फागुन ३ गते शहीद स्मारक ‘ए’ डिभिजन लिग सकिएपछि एन्फाले विश्वकप छनोटका दुई खेलका लागि दशरथ रंगशालाको मैदानको मर्मत थालेको थियो ।

कोरोना त्रासाका कारण मैदान मर्मतको काम केही समय रोकिएपनि पुनः सुरु गरिएको थियो । रंगशालामा विश्वकप छनोटअन्तर्गत अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनविरुद्धका खेल तय भए पनि कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित भइसकेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले दशरथ रंगशालामा क्वारेन्टिन बनाउने विषयमा केही नबोले पनि उनले रंगशालालाई क्वारेन्टिनमा प्रयोग गर्न नहुनेप्रति संकेत गरे । सदस्य सचिव सिलवालले कोरोना भाइरसको महामारीका कारण स्थगित भएका खेलकुद सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताए ।

‘कोरोनाको त्रास कम गर्न पनि खेलकुद प्रतियोगिताहरू क्रमशः ट्र्याकमा ल्याउने विषयमा छलफल भइरहेको छ । सावधानी अपनाएर स्थगित ‘बी’ डिभिजन लिग, ‘सी’ डिभिजन सञ्चालन दर्शकबिना सञ्चालन गर्ने विषयमा एन्फासँग छलफल भइरहेको छ,’ सदस्य सचिव सिलवालले भने, ‘व्यक्तिगत गेमका खेलाडीलाई पनि क्रमशः अब सामाजिक दूरी कायम राखेर अभ्यास गराइएको छ ।’ तर, खेल सञ्चालनका लागि सरकारको स्वीकृत लिनुपर्ने हुन्छ ।