काठमाडौं- भिजिट नेपाल २०२०को सचिवालले नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपालको सहयोगमा विश्वकै अग्लो स्थानमा रहेको गोकियो लेकमा आइस हक्की र स्केटिङ प्रतियोगिता गराउने भएको छ।
नेपाल भ्रमण वर्ष सचिवालयले साहसिक पर्यटकलाई लक्षित गर्दै आगामी फेब्रुअरी १४ मा नेपालमै पहिलो पटक आइस हक्की (स्केटिङ) खेलाउने तयारी गरेको हो।
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाअन्तर्गत पर्ने ४ हजार ७ सय ९० मिटर अग्लो गोकियो लेकमा उक्त खेल हुनेछ। साहसिक पर्यटकका लागि आइस हक्की खेलाएर वर्ल्ड रेकर्ड राख्ने तयारी गरिएको सचिवालयले जनाएको छ।
अमेरिका‚ क्यानडा, रुस र भारतलगायतका देशका खेलाडीहरूको सहभागिता रहने खेलमा १० देशका २० जना खेलाडीले आइस हक्की खेल्नेछन्।
भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यका अनुसार हक्की खेलको सम्भाव्यता अध्ययनका लागि गत डिसेम्बरमा तीन सातासम्म अमेरिकी विशेषज्ञहरूले स्थलगत अध्ययन गरेका थिए।
उनीहरूको अध्ययनपछि खेलका लागि उपयुक्त भएको निष्कर्ष निकालिएको हो।
सचिवालयले सन् २०२० को नोभेम्बरमा कर्णाली नदीमा र्याफ्टिङको तयारी गरेको छ भने मुस्ताङमा मोटरबाइक रेस, मनाङमा आइस क्लाइम्बिङलगायतका साहसिक गतिविधिको तयारी गरेको जनाएको छ।
उक्त खेलमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) ले समेत सहयोग गरेको छ। त्यस्तै अमेरिकास्थित ग्राफ स्केट्चले नेपालीले नियमित रूपमा खेलको अभ्यास गरून् भनेर ३१ वटा स्केट्स सुज सहयोग गरेको छ। त्यस्तै अमेरिकाकै स्त्रिन प्रिन्टिङ एण्ड कस्टम अप्पेरियलले हक्किको लागि जर्सी र पक सहयोग उपलब्ध गराएको छ।