Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतका सूर्यवंशीले तोडे नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान

भारतका सूर्यवंशीले तोडे नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान

 

काठमाडौँ । नेपालका कुशल मल्लको नाममा रहेको एउटा विश्व कीर्तिमान भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले तोडेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान सूर्यवंशी बिहीबार आफ्नो नाममा राखेका हुन्। 

जिम्बावे विरूद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा १५ वर्ष ११८ दिनको उमेरमा अर्धशतक प्रहार गर्दै सूर्यवंशीले नयाँ कीर्तिमान बनाएका हुन्। 

यसअघि यो रेकर्ड नेपालका कुशल मल्लको नाममा थियो। मल्लले सन् २०२० मा अमेरिका विरूद्धको एकदिवसीय खेलमा १५ वर्ष ३४० दिनको उमेरमा अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान बनाएका थिए।

सूर्यवंशीले कुशल मल्लको ६ वर्ष पुरानो रेकर्डलाई करिब ७ महिनाको उमेर अन्तरले पछि पारेका हुन्।

जिम्बावेको हरारेमा भएको खेलमा १२६ रनको लक्ष्य पछ्याएको भारतका लागि सूर्यवंशीले विष्फोटक ब्याटिङ गरे। उनले मात्र १८ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे। समग्रमा १९ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाए। उनको स्ट्राइक रेट २६३.१५ रहेको थियो।
 
सूर्यवंशीको यही विष्फोटक पारीको मद्दतले भारतले जिम्बावेलाई ७ विकेटले पराजित गर्दै टी-२० शृङ्खलामा विजयी सुरुवात गरेको छ। जिम्बावेले दिएको १२६ रनको लक्ष्य भारतले १४ ओभरमै मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।