नेपाली राष्ट्रिय क्रिकेट टीमका अलराउण्डर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । क्रिकेटर सोमपाल कामीले चार वर्षअघि प्रतिभा घिमिरेलाई प्रेम प्रस्ताव राखेका थिए । प्रतिभाले जवाफ दिन झण्डै दुई साता लगाइन् । सन् २०१६ मार्च महिनाका ती दुई साता सोमपालको निम्ति दुई जूनी बराबर भयो । त्यसपछि प्रतिभाले जे जवाफ दिइन्, त्यसले यो जोडीलाई जूनी–जूनीको निम्ति एकअर्कासँग बाँधेको छ ।
सोमपाललाई जिन्दगीकै सबभन्दा ठूलो म्याच जिते जस्तो’ खुशी भयो । त्यही खुसी बिहीबार दोब्बर भएको छ, जब उनीहरू चार वर्षको प्रेम सम्बन्धलाई विवाहले अझ कसिलो पार्दैछन् । चार वर्षे प्रेम सम्बन्ध पछि सोमपालले धनगढीकी प्रतिभा घिमिरेसँग विवाह गरेका हुन् । उनले काठमाडौंको एक मन्दिरमा विवाह गरेका छन् । २२ माघदेखि कीर्तिपुर मैदानमा अमेरिका र ओमान विरुद्ध हुने त्रिकोणात्मक एक दिवसीय सिरिज चोटका कारण नखेलेका सोमपाल विवाह बन्धनमा बाँधिएका हुन् ।