Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा थ्री स्टार र हिमालयन शेर्पा क्लब आमनेसामने हुदैछन् । खेल दशरथ रंगशालामा मध्यान्न १२ बजे सुरु हुनेछ । लिगमा शेर्पाले एक मात्रै जित हात पारेको छ । राष्ट्रिय टिमको खेलाडीको बाहुल्यता रहेको मछिन्द्रलाई पछिल्लो खेलमा हार चखाउँदै शेर्पाले लिगमा पहिलो जित दर्ता गरेको हो ।

सात खेलबाट शेर्पाले १ जित ४ हार र ३ बराबरीको नतिजा सहित ७ अंक जोडेको छ । शेर्पा तालिकाको ११ औं स्थानमा छ । यता, उपाधि होडमा रहेको थ्री स्टार पनि शेर्पालाई पराजित गर्दै उपाधि होडमै रहन चाहन्छ । थ्री स्टार ३ जित, २ बराबरी र दुई हार सहित ११ अंक जोडेर तालिकाको पाचौं स्थानमा छ ।

आजको जितले थ्री स्टारलाई तेस्रो स्थान र शेर्पालाई सातौ स्थानमा उक्लने मौका छ । त्यसैगरी एपीएफले आज लिगको ५२ औं खेलमा जावलाखेल युथ क्लबको सामना गर्दैछ । खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ ।

एपीएफ १ जित २ बराबरी र ४ हार सहित ५ अंक जोडेर तालिकाको १३ औं स्थानमा छ । सुरुवाती पाँच खेलमा अपराजित रहेको जावलाखेल अन्तिम दुई खेलमा भने पराजित छ । उसले २ जित, ३ बराबरी र २ हारको नतिजा सहित ९ अंक जोडेर तालिकाको आठौ स्थानमा छ ।