काठमाडौँ, ११ साउन । कप्तान पारस खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेलेपछि नेपालले आइसीसी टि-२० विश्वकप अन्तर्गत एसिया छनौटको तेस्रो खेलमा कुवेतमाथि ७ विकेटको सानदार जित हात पारेको छ।
जितसँगै ५ टोली सहभागि प्रतियोगितामा ४ अंकसहित नेपाल दोस्रो स्थानमा उक्लिएको छ। यस प्रतियोगिताबाट शीर्ष टोलीमात्रै अक्टोबरमा हुने ग्लोबल छनौटमा पुग्ने भएकाले नेपालले आइतबार सिंगापुरविरुद्ध जित हात पार्नैपर्नेछ। सिंगापुर ५ अंकसहित शीर्षमा छ।
कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। नेपालको जितमा कप्तान पारस खड्काले ४२ बलमा ११ चौका र १ छक्कासहित ६८ रन जोडे।
दोस्रो विकेटका लागि पारस र शरद भेषावकरले ७८ रनको साझेदारी गर्दै नेपालको जितको आधार बनाएका थिए। शरदले छक्का प्रहार गर्दै नेपालका लागि विजयी रन बटुले। शरदले ३० बलमा ४ चौका र १ छक्कासहित ३८ रन जोडे।
शरदसँगै रोहित पौडेल ६ रनमा नटआउट रहे। त्यसअघि पारस र ज्ञानेन्द्र मल्लबीच ४४ रनको ओपनिङ साझेदारी भएको थियो। ज्ञानेन्द्रले १३ बलमा २ चौका र एक छक्कासहित १९ रन जोडे।
त्यसअघि सिंगापुरको इन्डियन एशोसियसन ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो।
१८ ओभरमा कुवेत १११/८ को स्थितिमा भएपनि अन्तिम दुई ओभरमा कुवेतले ३० रन जोड्यो। करण केसीले गरेको १९औं ओभरमा मोहम्मद कासिफले २ छक्कासहित १३ रन जोडे।
यस्तै अन्तिम ओभरमा कासिफले नै २ छक्का र एक चौका प्रहार गर्दै १७ रन जोडेपछि कुवेतले सम्मानजनक स्कोर बनाएको हो। कासिफले ३६ बलमा ४ छक्का र २ चौकासहित ४९ रन जोडे।
यस्तै आन्दन इन्द्रासले १४ बलमा ५ चौकासहित २५ रन जोडे। मोहम्मद इस्लामले २५ बलमा २३ रन बनाए। त्यसबाहेक राजिभा सान्दारवानले १५ र बिलाल ताहिरले १३ रन जोडे।
नेपालका बसन्त रेग्मी र सन्दीप लामिछानेले कसिलो बलिङ गरे। बसन्तले ४ ओभरमा २० रनमात्रै खर्चेर ३ विकेट लिए । यस्तै सन्दीपले ४ ओभरमा २१ रनमात्रै खर्चेर ३ विकेट लिए।