काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकपमा सहभागी हुने राष्ट्रको संख्या बढाउने तयारी गरेको छ । नेपाल, अमेरिका जस्ता राष्ट्रलाई सहभागी गराउनु पर्ने साेच सहित सहभागी राष्ट्रकाे संख्या बढ्ने भएकाे हाे । आईसीसीले सन् २०२४ को टी–२० विश्वकपमा सहभागी राष्ट्रलाई १६ बाट २० पुर्याउने तयारी गरेको बेलायती पत्रिका द डेली टेलिग्राफले उल्लेख गरेको छ ।
टेलिग्राफले जनाएअनुसार आईसीसी मुख्य लक्ष्य अमेरिकाको राष्ट्रिय टोलीलाई विश्वकपमा सहभागी गराउनु रहेको छ । अहिले अमेरिका आईसीसीको टी–२० वरियतामा ३२ औं स्थानमा छ । तर अमेरिकाले विश्व क्रिकेट लिगतर्फ भने तेस्रो डिभिजनबाट उक्लेर पहिलो डिभिजनमा आइसकेको छ ।
याे निर्णयले सन् २०१४ काे टी–२० विश्वकपमा सहभागी भइसकेकाे नेपालकाे पनि विश्वकप खेल्ने अवसर बढ्नेछ । यस्तै नेपाल, अमेरिकाऽ क्यानडा, जर्मनी र नाइजेरियाजस्ता राष्ट्रलाई पनि सो विश्वकपमा सहभागी गराउँदा प्रतियोगिताको प्रभावकारिता बढ्ने ठहरसहित यो विषयलाई गम्भीर रुपमा लिइएको बताइएको छ । यो योजना आईसीसीको आगामी क्यालेण्डर बनाउने क्रममा छलफल हुने छ ।
आईसीसीले सन् २०२३–२०३१ सम्मको नयाँ क्यालेण्डर तयार पार्दैछ । यो योजना त्यसमा सहभागी भएमा नेपाल लगायतका राष्ट्रको विश्वकप खेल्ने सपना पूरा हुन सक्छ । यस्तै आईसीसीले टी–२० र एकदिवसीय स्वरुपको च्याम्पियन्स ट्रफीको आयोजन ागर्ने विषयमा पनि छलफल हुने बताइएको छ । आईसीसीको आगामी मार्चमा हुने बैठकमा यी विषयमा छलफल हुने द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।