Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दोहोरी कलाकारहरुको महाकुम्भ मेला लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौँ महाधिवेशन धादिङमा हुने

दोहोरी कलाकारहरुको महाकुम्भ मेला लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौँ महाधिवेशन धादिङमा हुने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ । प्रतिष्ठानले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी आठौँ महाधिवेशन एवं २२औं साधरणसभा धादिङ जिल्लाको धादिङवेशीमा हुने जानकारी गराएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भए पनि कोरोना महामारीको कारण कार्यकालमा सोचेझैँ काम गर्न नसकिएको उनले बताए । कलाकर्मीहरूलाई कोरोना महामारीको कहर एकदमै कष्टकर भएको उनले बताए । सबै फूलहरूलाई फुलाउँछु भनेर बार लगाए पनि त्यस्तो सम्भव नभएको उनले बताए । तत्कालीन समयमा कोभिडको समयमा कलाकारलाई रोग र भोकबाट बचाउन आफूहरू लागिपरेको उनले स्मरण गराए । उनले आफूले पाएको समय भरपुर सदुपयोग गर्ने कोसिस गरेको बताए ।

उनले आफूले कतिपय काम प्रचारमा ल्याउन नचाहेर केही काम गर्न नसकेको भन्ने आरोप आफूलाई लाग्ने गरेको पनि बताए । आफूले प्रतिष्ठानको जिम्मेवारीमा रहेर पाएको समयलाई भरपुर सदुपयोग र निष्पक्ष ढंगबाट कार्यसम्पादन गर्ने कोसिस गरेको उनले बताए ।

‘प्रतिष्ठानको अध्यक्षका हैसियतले इमानदारिताका साथ म आफ्नो कार्यकालको उत्तरार्धमा आइपुगेको छु । यो कार्यकाल सफल गर्नका लागि मलाई पूर्व अध्यक्षज्यूहरूको विश्वास, सहयोग र साथले मलाई बढी हौसला दियो,’ उनले भने ।

कोभिडको बेलामा प्रतिष्ठानलाई देश विदेशबाट प्राप्त भएको सहयोगका लागि पनि उनले विशेष धन्यवाद दिए ।

कार्यक्रमको जिम्मा केन्द्रीय सदस्य अमृत अधिकारी र राजकुमार रायमाझीलाई दिइएको उनले बताए । साथै, जिम्मेवारी पाएका व्यक्तिहरूले गरेको निमन्त्रणा स्विकारेर कार्यक्रममा उपस्थित भइदिन पनि उनले सबैलाई आग्रह गरे ।

आफूहरूले सर्वसम्मतबाट नेतृत्वको चयन गर्न खोजिरहेको र सर्वसम्मत नेतृत्व चयन हुँदै गर्दा वर्तमान वरिष्ठ उपाध्यक्ष रीता थापालाई प्रतिष्ठानले अघि सार्ने अध्यक्ष बिजीले बताए । सकेसम्म सबै पदाधिकारीको नेतृत्व चयनमा सर्वसम्मत प्रक्रिया अवलम्बन गरिने उनले बताए ।

अध्यक्षमा आफू दोहोरिने कुनै मनसाय नभएको उनले बताए । आठौँ महाधिवेशनको मुख्य अतिथिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलको उपस्थिति रहने बताइएको छ ।

महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरू, मानार्थ सदस्यहरू र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जनाभन्दा बढीको उपस्थिति रहने बताइएको छ ।