काठमाडौँ । पछिल्लो समय नेपाली गीतमार्फत सर्जकहरु समाजको कथा र ब्याथालाई देखाईरहेका छन्।
२ घण्टाको फिल्मले उठान गर्न नसकेका थुप्रै कथाहरु सर्जकले छोटो गीत मार्फत नै भनिरहेका छन्। पछिल्लो पटक सर्जक कमल खनालको मार्मिक गीति कहानी ‘बाकस’ सार्वजनिक भएको छ । यो गीत मार्फत कमलले समाजको मार्मिक कथा पस्किएका छन्।
यो गीति कहानीमा गायक सुप्रिम मल्ल ठकुरी र गायिका पुजा देवकोटा मिसिएका छन्। खनाल स्वयंमको शब्द एवं संगीत रहेको गीतलाई मनोज खड्काले एरेन्ज गरेका छन्।
गीत मार्फत कथा भनिरहेका खनालले बाध्यताले खाडी मुलुक पुग्ने महिलाको कथा पस्किएका छन्। पछिल्लो समय खाडी मुलुक पुग्नेहरुको लहरमा महिलाहरुको संख्या पनि बढ्दै छ । आफ्नो साना–साना सन्तानहरुलाई नानापापा ल्याईदिने बाचा गरेर आकाशमा उडेकी आमा बाकसमा फर्किदाको पीडा गीतमा समेटेका कमलको भनाई छ ।
विदेशमा नेपाली महिलाले भोग्नुपरेको पीडा र मृत्यु, अर्कोतर्फ नेपालमा पारिवारिक विचलनको दृश्यसमेत गीतको भिडियोमा समेटिएको छ। भिडियो सम्पादनमा कहलिएका सम्पादक मिराज अर्यालले ‘बाकस’को निर्देशन गरेका हुन्।
कलाकार सारिका केसी, कुलदीप अधिकारी, बाल कलाकारद्वय उमेश ढकाल र मञ्जिला बानियाँले अभिनय गरेको भिडियोमा आयुषा क्षेत्री, नरेश धिताल, मिथिला बानिया, शान्ति भट्ट, अशोक अर्यालले पनि देखिएका छन्।