काठमाडौं । आफ्नै डेरामा मृत भेटिएकी गायिका दिलमाया सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न लोकदोहोरी कलाकारहरुले माग गरेका छन् ।
उनीहरुले सुनारको मृत्युलाई लिएर थप रहस्य बाहिर आएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै बालाजु प्रहरी वृत्तमा दबाब दिएका छन् ।
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका उपमहासचिव शिव हमालले घटनाबारे निष्पक्ष र सत्यतथ्य अनुसन्धान हुनुपर्ने आफूहरुको माग रहेको बताए । झण्डै डेढ सय लोकदोहोरी कलाकार अहिले बालाजु चौकीमा भेला भएका छन् ।
उनका अनुसार मृतक सुनारको परिवारले प्रहरीमा जाहेरी दिने तयारी छ । बालाजु वृत्तका डीएसपी गौतम मिश्रले जाहेरीपछि अनुसन्धान अघि बढ्ने बताए ।
दिलमायाका परिवार सुर्खेतबाट आजै काठमाडौंमा आइपुगेका छन् । दिलमाया सुर्खेत प्रतिष्ठानकी सदस्य समेत हुन् । प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा समेत उनी उत्कृष्ट भएकी थिइन् ।