काठमाडौं । एकदिवसीय सिरिजअन्तर्गतको पहिलो खेलमा घरेलु टोली नेपाल जिम्बाब्वे ‘ए’ सँग पराजित भएको छ ।
आज सम्पन्न खेलमा नेपाल तीन विकेटले पराजित भएको हो । १३७ रनको लक्ष्य जिम्बाब्वेले २६ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।
जिम्बाब्वेका लागि इनोसेन्ट केइयाले अविजित ४८ रनको योगदान दिए । ब्राड इभन्स १७ रनमा अविजित रहे । केफस जुवाओले ३२ र रोय केइयाले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले दुई–दुई तथा सोमपाल कामी र सागर ढकालले एक–एक विकेट लिँदा एक विकेट रन आउटका रुपमा प्राप्त भयो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो निम्तो पाएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।
यो जितसँगै जिम्बाब्वेले सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।