काठमाडौं । गायक राजु लामाले जलवायु परिवर्तनको असरबारे सन्देश दिन ६ हजार ५७४ मिटर उचाइमा कन्सर्ट गरेका छन् ।
सगरमाथाको क्याम्प –३ पुगेर लामाले कन्सर्ट गरेका हुन् । जलवायु परिवर्तनको संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले जोखिम ल्याएकोबारे सन्देश दिन कन्सर्ट गरेको उनको तर्क छ ।
यसअघि बेलायती गायक ओज बेल्डोनले १६ मे २०१२ मा मेरापिक हिमालको ६ हजार ४७६ मिटर उचाइमा कन्सर्टको गिनिज विश्व रेकर्ड राखेका थिए उक्त रेकर्ड यो कन्सर्टसँगै तोडिएको छ ।
ग्लोबल वार्मिङ र जलवायु परिवर्तनजस्ता संकट सिर्जना हुनुमा १० प्रतिशत मानवीय प्रवृत्ति जिम्मेवार रहेको लामाको भनाइ छ ।
गिटार लिएर क्याम्प–३ पुगेका राजुले त्यहाँ रिलिज नभइसकेको आफ्नो नयाँ गीत ‘हिमालले डाक्यो मलाई’ गाएका थिए । सार्वजनिक नभइसकेको यो गीतको ८० प्रतिशत भिडियो छायांकन भइसकेको छ ।
यो गीतले जलवायु परिवर्तनविरुद्धको सन्देश दिने लामा बताउँछन् ।