काठमाडौँ । पहिलो टी–२० खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गर्यो। नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
जिम्बावेका लागि कप्तान टोनी मुनयोङ्गा र ताडिवानाशे मारूमानीले अर्धशतक प्रहार गरे। मुरूमानीले ५६ रन र कप्तान टोनीले ५० रन जोडे। त्यसअघि ओपर इनोसेन्ट काइयाले ३० बलमा ४७ रन जोडे।
बलिङमा नेपालका डेब्यू खेलाडी बसिर अहमेदले २ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले १–१ विकेट हात पारे।खराब बलिङ गरेका कप्तान सन्दीपले ४ ओभरमा ५० रन दिए। करणले ३ ओभरमा ३५ रन खर्चिए।
त्यसअघि जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा १ सय ८१ रन जोड्यो। नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान आदिल अन्सारीले उत्कृष्ट ब्याटिङ गरे। उनले २७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ४७ रन जोडे।
ओपनर कुशल भुर्तेलले ४६ रन जोडे। आसिफ शेख ९ रनमा आउट भए। रोहित कुमार पौडेलले २६ बलमा ३६ रन र दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि १३ रनमा २८ रनको योगदान दिए।
बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोङगे, ब्रान्डन माभुता र जोन मसाराले १–१ विकेट लिए।
दोस्रो टी–२० भोलि मा र तेस्रो टी–२० वैशाख २१ मा हुनेछ।