काठमाडौँ । १० खेलाडीले बन्द प्रशिक्षण छाडेर गएपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियन कप छनोटको तयारीमा रहेको नेपाली टिममा १४ जना नयाँ खेलाडी थपेर प्रशिक्षण प्रारम्भ गरेका छन् ।
प्रशिक्षक अल्मुताइरीकै कारण आफूहरुले बन्द प्रशिक्षण छाड्न बाध्य भएको भन्दै १० खेलाडीले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेन गरेर आफ्नो धारणा राखेका थिए । त्यही समयमा प्रशिक्षक अल्मुताइरीले भने नयाँ खेलाडी थप गरेर बन्द प्रशिक्षण जारी राखेका छन् ।
होस्टेल र होटलमा राख्ने कुरामा विवाद हुँदा १० जना खेलाडीले क्याम्प छाडेर गएका थिए । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाली टोलीले एएफसी एसियन कपमा स्थान बनाउन नसक्ने बताइसकेका छन् ।
छनोट अघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।