पोखरा । समूह चरणको अन्तिम खेलमा पोखरा पल्टन एक्सपर्ट धनगढी ब्लुजसँग पराजित भएको छ ।
पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा धनगढीसँग पाँच विकेटले हारेपछि साविक विजेता पोखरा प्रतियोगिताबाट बाहिरिएको छ ।
पोखराले दिएको ८० रनको सामान्य लक्ष्य धनगढीले ९ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्याे । धनगढीका लागि दीपक पुनियाले २५, रोद्रिगो थोमसले १५ र दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १६ ओभर ३ बलमा सबै विकेट गुमाएर ७९ रन मात्र बनाएको थियो । उसका लागि आसिफ शेखले ३२ र विनोद भन्डारीले १२ रन बनाए । अरु व्याट्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पोखरालाई सस्तैमा समेट्न धनगढीका अनिल खरेलले ३ विकेट लिए । सागर ढकाल र दीपक पुनियाले समान २ विकेट लिए ।
धनगढीको भने प्लेअफ पुग्ने सम्भावना कायमै छ । यसअघि पोखरा र धनगढी दुवै टोलीले अहिलेसम्म खेलेका चारमध्ये एक खेल मात्र जितेका थिए भने तीन खेल हारेका थिए । समूहका सबै खेल खेल्दा पोखराले २ अंक मात्र जोड्याे । समूह चरणको अन्तिम खेल जितेको धनगढीले भने ४ अंक जोडेको छ ।