काठमाडौं । एपीएफ क्लब प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
सावित्रा भण्डारीको ह्याट्रिकमा नेपाल पुलिस क्लबलाई ५–२ गोल अन्तरले हराउँदै एपीएफ फाइनल पुगेको हो । भद्रकालीस्थित आर्मीको मुख्यालयमा भएको खेलमा एपीएफलाई जिताउँन सावित्राले ३ तथा अनीता बस्नेत र रेखा पौडेलले समान १ गोल गरे ।
पुलिसका लागि निशा सुनार र घिमकुमारी गुरुङले समान १ गोल गरे । निर्धारित समयसम्म दुवै टोलीले २–२ को बराबरी खेले । त्यसपछि अत्तिरिक्त समयमा एपीएफ विजयी भयो ।
एपीएफले खेलको तेस्रो मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो । खेलको ४३ औं मिनेटमा पुलिसकी निशाले गोल गर्दै खेल बराबरी गरिन् । पहिलो हाफको इन्ज्युरी समयमा अनिताले गोल गर्दै एपीएफको अग्रता २–१ मा पुर्याइन् ।
खेलको ८७ औं मिनेटमा पुलिसकी घिमकुमारीले गोल गरिन् । फेरि २–२ गोलको बराबरीमा पुग्यो खेल । त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न सकेनन् ।
थपिएको समयमा सावित्राले गोल गर्दै एपीएफको अग्रता ३–२ मा ल्याइन् । त्यसपछि रेखाले गोल गरिन् । फेरि सावित्राले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि एपीएफ ५–२ ले विजयी भयो । पुलिसले गोल गर्ने अवसरमा पाएपनि सदुपयोग गर्न सकेन ।
त्यस्तै सोमबार नै दोस्रो सेमिफाइनलमा आर्मी र भुटान खेल्दै छन् । खेल दिउँसो दुई बजे हुँनेछ । यी दुवै टोलीको विजेतासँग एपीएफले उपाधिका लागि खेल्ने छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी छन् प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।