सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका सह–सचिव एवंम् तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले कोष स्थापनाका लागि रकम हस्तान्तरण गरेका छन् । विष्टले आफ्नो जन्मदिनको अवसर पारेर बिहिबार सुर्खेत उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ सुर्खेत शाखामा कोष सञ्चालनका सहयोग स्वरुप रकम दिएका हुन् ।
विष्टले ५१ हजार १ सय ११ का दरले एक लाख दुई हजार दुई सय २२ रुपैयाँ कोष सञ्चालनका लागि दिएका हुन् ।
व्यापारी तथा उद्योगीहरुका लागि ‘आपतकालीन राहात कोष’ स्थापना गर्न रु.५१ हजार १ सय ११ रुपैयाँ विष्टले दिएका हुन् । ‘आगलागी लगायतका प्राकृतिक प्रकोपबाट हुने क्षतीबाट व्यापारी उद्योगीलाई आपतकालीन सहयोग प्रदान गर्ने उद्देश्यले राहत कोषका लागि रकम दिइएको हो’ विष्टले भने, ‘सुर्खेत उद्योग वाणिज्य संघद्वारा सो राहात कोषको सञ्चालन हुने छ ।’
यस्तै, नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई ‘हरि विष्ट युवा पत्रकार पुरस्कार’को अक्षय कोष स्थापनाका लागि रु.५१ हजार १ सय ११ रुपैयाँ सहसचिव विष्टले प्रदान गरेका छन् । शाखाबाट वार्षिक रुपमा सुर्खेतमा क्रियाशिल युवा पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्यका साथ रकम प्रदान गरिएको उनले जानकारी दिए ।
चेक प्राप्त गर्दै नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष सुदीप पुरीले सहसचिव विष्टद्वारा प्राप्त रकमलाई अक्षय कोष स्थापना गरी उद्देश्य अनुरुप वार्षिक रुपमा क्रियाशिल युवा पत्रकारलाई पुरस्कृत गरिने बताए । साथै, उनले महासंघका तर्फबाट पुरस्कृत हुने पत्रकार छनोट गर्ने क्रममा अक्षय कोषदातालाई समावेश गरिने प्रतिवद्धता व्यक्त गरे ।