पोखरा : दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर टाइटन्समाथि जित हात पारेको छ । पारस खड्काको कप्तानीमा रहेको चितवनले प्रदीप ऐरीको कप्तानीमा रहेको विराटनगरलाई १८ रनले हराएको हो । यस जितसँगै चितवन फाइनल नजिक पुगेको छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १४६ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको चितवनले १३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ६० रनमा दोस्रो विकेट गुमाएको चितवनले ७० रनमा तेस्रो विकेट खेर फाल्यो । उसका लागि रोहन मुस्तफाले सात, कप्तान पारस खड्काले ३५ तथा अनिल शाहले मात्र तीन रन बनाए ।
त्यसपछि चितवनका लागि बाबर हायातले २५ रन बनाउँदा आउट भएपछि ९२ रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि अरिफ शेख र सन्नी पटेलले पाँचौ विकेटका लागि अर्धशतकीय साझेदारी गरे । जसमा आरिफले अविजीत ३९ रन बनाए भने सन्नीले २७ रनको योगदान गरे ।
१९ औं ओभरमा विराटनगरका जितेन्द्र मुखीयाको बलमा सन्नी पटेलले २७ रन हिर्काए । जसमा उनले तीन छक्का, एक चौका प्रहार गरे ।बलिङमा पुनित मेहरा र मुहम्मद जेइद आलमले एक एक विकेट लिए ।
जवाफमा विराटनगरको पारी पुरै ध्वस्त बन्यो । विराटनगर १९ ओभरमा एक सय २८ रनमा अलआउट भयो । उसले ३७ रन बनाउँदा ६ विकेट गुमाएको थियो । सुनील धमला ५ रनमा आउट भए भने मुहम्मद जेइद आलम एक, कप्तान प्रदिप ऐरी नौ तथा नोमान खान १८ रनमा पेभेलियन फर्किए । त्यसपछि राजु रिजालपनि मात्र एक रनमा आउट हुन पुगे ।
यस्तै राजेश पुलामी मगरले खाता खोल्न सकेनन् । सातौ विकेटका लागि लोकेश बम र पुनित मेहरा विच अर्धसतकीय साझेदारी भएको थियो । तर पुनित २४ रनमा आउट भएपछि विराटनगरले एक सय १४ रनमा सातौ विकेट खेर फाल्यो ।
त्यसपछि लोकेश बम ६२ रनमा आउट भएपछि विराटनगरको आशा समाप्त भयो । बाँकी खेलाडी एकछि अर्को रुपमा आउट भए । विराटनगरको पारीलाई ध्वस्त पार्न भुवन कार्कीले तीन तथा रोहन मुस्तफा र करण केसीले दुई दुई विकेट लिए ।