Shares
Shares
काठमाडौं । स्वास्थ्य सेवा विभागले सोमबार एक सूचना जारी गरेर देशभरका सीमानाकामा एन्टिजेन परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ आएका नमुनाहरू राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) पठाउन निर्देशन दियो । दक्षिण अफ्रिकालगायत कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’सहित नयाँ केसहरू बढिरहेको भन्दै विभागले कोभिड पोजेटिभ देखिएका सबै नमुना जिन सिक्वेन्सिङका लागि पठाउन भनेको हो ।
विभागले भनेजस्तै नेपालमा कोभिड–१९ को नायाँ भेरियन्ट देखिएमा तुरुन्तै पहिचान गर्न सम्भव छ त ?
कसरी पत्ता लगाइन्छ नयाँ भेरियन्ट ?
कुनैपनि भाइसरको परिवर्तित स्वरूप ‘भेरियन्ट’ पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ । जिन सिक्वेन्सिङ भाइरसको नयाँ प्रजाति पहिचानका लागि अपनाइने परीक्षण विधि हो । कोभिड–१९ को हकमा एन्टिजेन परीक्षणबाट पोजेटिभ आएका नमुनाको पीसीआर परीक्षण गरिन्छ । पीसीआर परीक्षणको नतिजाले सो नमुनाको जिन सिक्वेन्सिङ गर्ने वा नगर्ने भन्ने निर्धारण गर्दछ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलोजिस्ट राजेशकुमार गुप्ताकाअनुसार भाइरस म्युटेसन भएमा नमुनाको पीसीआर परीक्षण गर्दा एस जिन नेगेटिभ आउँछ । यसरी एस जिन नेगेटिभ आउनेको संख्या निकै कम हुन्छ । ती नमुनाको मात्रै जिन सिक्वेन्सिङ गरिन्छ । सिक्वेन्सिङ गरिसकेपछि जुनसुकै भेरियन्ट पनि पत्ता लागाउन सकिन्छ ।
नेपालमा नयाँ भेरियन्ट पत्ता लगाउन सकिन्छ ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले जिन सिक्वेनसर मेसिन ल्याएको झन्डै आठ महिनापछि गत असोजदेखि जिन सिक्वेन्सिङ परीक्षण सुरु ग¥यो । कोभिड–१९ का दुईवटा लहरमा एनपीएचएलले त्रि.वि. जैविक प्रविधि केन्द्रीय विभाग र विश्व स्वास्थ्य संगठनको प्रयोगशालासँगको समन्वयमा ४२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरेको जनाएको थियो ।
भदौ र आसोजमा संकलन गरिएका ती नमुनामध्ये ४१ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको थियो भने वैशाखमा संकलन गरिएको एउटा नमुनामा ‘अल्फा भेरियन्ट’ देखिएको एनपीएचएलले जनाएको छ । तर, पछिल्लो दुई महिनायता एनपीएचएलमा नै जिन सिक्वेन्सिङ भइरहेको एनपीएचएलका प्रवक्तासमेत रहेका गुप्ताले बताए ।
“हामीसँग एकपटकमा ४० देखि ५० वटा नमुनाको जिन सिक्वेन्सिङ गर्नसक्ने क्षमताको मेसिन र जनशक्ति छ । धेरै समय लाग्ने भएपनि हामीसँग विश्व स्वास्थ्य संगठनका विज्ञहरू र अन्य सहयोग पर्याप्त छ । त्यसैले नेपालमा नै नयाँ भेरियन्ट पत्ता लगाउन अब हामी सक्षम छौँ,” उनले भने ।
अहिले अन्तर्राष्ट्रिय विमानस्थल र देशभरका विभिन्न प्रयोगशालाबाट नमुना संकलनको काम भइरहेको छ । तिनमा नयाँ भाइरस भए नभएको पहिचान गर्न परीक्षणपछि ७ देखि १० दिन समय लाग्ने पनि गुप्ताले जानकारी दिए ।
यसअघि यसरी गरिएको थियो नेपालमा नयाँ भेरियन्टको परीक्षण
एनपीएचएलले जिन सिक्वेन्सिङ सुरु गर्नुअघिदेखि नै नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान नास्ट, त्रिवि जैविक प्रविधि विभाग र धुलिखेल अस्पतालमा यो विधिको प्रयोग भइरहेको छ । नास्टले किट जातीमा नयाँ संक्रमणको पहिचानका लागि यसको प्रयोग गरेको पाइएको छ ।
धुलिखेल अस्पतालमा भने पाठेघरको मुखको क्यान्सर, जापनिज इन्सेप्लाइटिस, म्यानेन्जाइटिस् लगायतका संक्रमणको पहिचानका लागि जिन सिक्वेन्सिङ गर्ने गरिएको अस्पतालका प्रमुख औषधी विज्ञ डा. राजिव श्रेष्ठले बताए ।
नेपालमा पहिलोपटक कोभिड–१९ को नयाँ भेरियन्ट पहिचानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएका ६ वटा नमुनासमेत धुलिखेल अस्पतालबाट सिक्वेन्सिङ गरिएको थियो । ०७७ माघमा बेलायतबाट नेपाल आएका तीन जना नागरिकमा फरक प्रकारको संक्रमण पाइएको थियो । नयाँ भेरियन्टको आशंका गरिएका उनीहरूको स्वाबको नमुना विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । हङकङबाट आएको नतिजामा उनीहरूमा ‘यूके भेरियन्ट’ पुष्टि भएको थियो ।
त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानका लागि ६० वटा नमुनाबाट जिन सिक्वेन्सिङ सुरु गरेको थियो । त्यसयता परिषद्ले निरन्तर काठमाडौं विश्वविद्यालय र निजी प्रयोगशालाहरूमार्फत् जिन सिक्वेन्सिङ गरिरहेको छ । भदौसम्म १०० वटा नमुना काठमाडौं विश्वविद्यालयको प्रयोगशालाबाट र एक हजार ५०० वटा नमुना अन्य विविभन्न प्रयोगशालाहरूबाट परीक्षण गरिएको परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209