पोखरा : पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गरेको छ । पोखरा रंगशालामा धनगढीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १७ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको धनगढीले पाँच रनमा पहिलो विकेट गुमायो । उसका ओपनर सन्दिप सुनार मात्र तीन रनमा पेभेलियन फर्किए ।
त्यसपछि ३२ रनमा दोस्रो विकेट खेर फालेको धनगढीले ४० रनमा तेस्रो विकेट गुमायो । विदेशी खेलाडी रोद्रिगो थोमस १६ रनमा आउट भए भने कप्तान दिपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन् ।
धनगढीको विकेट झर्ने क्रम यतिमा रोकिएन । ४८ रनमा चौथो विकेट गुमाएको उसले ७९ रन बनाउँदा सात विकेट झार्न पुग्यो । धनगढीका श्रीमन्थ विजेरत्नेले २५ रन बनाए भने सन्दिप जोरा सात, अमित यादव तीन र मञ्जित श्रेष्ठ ११ रनमा आउट भए । त्यसपछि सौरभ खनाल १२ रनमा बाहिरीदा धनगढीले ९८ रनमा आठ विकेट गुमाउन पुग्यो ।
धनगढीका लागि अन्तिममा कमलसिंह ऐरीले २६ रनको योगदान गरे । बलिङमा साहब आलमले तीन तथा नोमान खानले दुई विकेट लिए ।
धनगढीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । पहिलो ओभरमानै २ विकेट गुमाएको विराटनगरका राजु रिजालले सर्वाधिक २५ रन बनाए । २२ बल खेलेका उनले २ चौका र १ छक्काको मद्दतमा २५ जोडे । यस्तै सुनिल धमलाले १८ रन बनाउँदा नोमन खानले ११, पुनित मेहेराले १५ कप्तान प्रदिप सिंह ऐरीले १० रनको योगदान गरे ।
पहिलो ओभरको पहिलो बलमा कमल सिंह ऐरीले विराटनगरका जयद आलमलाई अनिल खरेलको हातबाट कभरमा क्याच आउट गरे । पहिलो ओभरमानै दिलिप नाथलाई दिपेन्द्र सिंह ऐरीले रन आउट गराए ।
तर, सुनिल धमला र प्रदिप ऐरीले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गर्दा अनिल खरेलले सुनिललाई सन्दीप सुनारको हातबाट क्याच आउट गराउँदा सागर ढकालले प्रदिपलाई अमित यादबको हातबाट क्याच गराए ।
नोमन खान सागर ढकालको बलमा लङ अफको दिशामा थोमसको हातबाट आउट भए । सर्वाधिक रन बनाएका राजुलाई अमृत यादबले मिड विकेटमा कमल सिंह ऐरीको हातबाट क्याच आउट गराए ।
राजेश पुलामी मगरलाई दिपेन्द्रले थोमसको हातबाट कट बिहाइण्ड गराउँदा दिपेन्द्रले अन्तिम ओभरमा पुनित र किशोरलाई क्लिन बोल्ड गराए । धनगढीका दिपेन्द्र सिंह ऐरीले ३ विकेट हात पारे । यस्तै सागर ढकालले २ विकेट लिए ।