काठमाडौं : दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग ‘पीपीएल’ आजबाट शुरु हुँदै छ । पोखरास्थित पोखरा क्रिकेट रंगशालामा साढे एघार बजे शुरु हुने उदघाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्नेछ । पहिलो खेलमा दुबै टिम जितको खोजीमा हुनेछन् ।
पोखरा शरद भेसावाकरको कप्तानीमा र काठमाडौं ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा उत्रिदै छ । क्विन्स इभेन्टले आयोजना गरेको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरु प्रतिस्पर्धा गर्नेछन् ।
खेलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज प्रतिस्पर्धी रहने छन् । अघिल्लो संस्करणमा २ जना विदेशी खेलाडी रहेकोमा यसपटक भने प्रत्येक टिममा तिन जना विदेशी खेलाडी छन् ।
प्रतियोगिता १५ दिनसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ । प्रतियोगिता टी–२० फर्म्याटमा सञ्चालन हुनेछ । पिपिएलको विजेताले २७ लाख रुपैयाँ पाउने छन् । त्यस्तै प्रतियोगिताको उपविजेता हुने टिमले १० लाख नगद रुपैयाँ पाउनेछ ।