काठमाडौं, विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले अब अर्को मार्चसम्ममा युरोपेली मुलुकमा सात लाख मानिसको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनसक्ने चेतावनी दिएका छन । युरोपेली मुलुकहरुमा त्यहाँको सरकारले गरेको लकडाउनको विरुद्ध आन्दोलन भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो।
युरोपेली मुलुकका जनताहरुले खोप नलगाएपछि त्यहाँ कोरोना भाइरसको संक्रमण बढेको बताएको छ। डब्लुएचओले कोरोनाको संक्रमणबाट बच्न खोप लगाउन र सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेपनि ती मुलुकहरुमा दिनहुँ जसो प्रदर्शन भइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा खबर छ।
डेल्टा भाइरसको संक्रमण र क्रमश: बढिरहेको चिसोका कारण युरोपेली मुलुकमा कोरोनाको थप जोखिम बढेको छ। युरोपेली मुलुकका जनताहरु कोरोना भाइरस संक्रमणका कारण अझै केही महिना घरभित्रै बस्नुपर्ने चेतावनी डब्लूएचओले दिएको छ।
नेदरल्यान्ड्समा लागू गरिएका लकडाउन सम्बन्धी नयाँ नियमहरूको विरोधमा प्रदर्शन भइरहेको छ। हेगमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले प्रहरीमाथि आगो फ्याँकिदिएका थिए। उनीहरूले साइकलहरू पनि जलाइदिएको एजेन्सीहरुले उल्लेख गरेका छन्। प्रतिकारमा प्रहरीले गोली चलाएको र केही प्रदर्शनकारी घाइते भएको जनाएको छ।
अस्ट्रिया, क्रोएशिया र इटलीमा पनि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएको बीबीसीले जनाएको छ। पछिल्लो समय युरोपमा कोरोना संक्रमितको संख्या बढिरहेको छ।