Shares
Shares
‘हामीले पानी खुब खानुपर्छ। कम्तीमा दैनिक दुई लिटर त खानै पर्छ।’, यस्ता सल्लाह खुब पाइन्छन्। पानी हाम्रो जीवनका लागि महत्वपूर्ण छ। तर, पानीबारे यस्तो सोचाई सधैं थिएन।
उन्नाइसौं शताब्दीसम्म त समाजको मथिल्लो बर्गका मानिसहरु खाली पानी खानु राम्रो मान्दैनथे। गरीबले पानीले पेट भर्छन् भन्ने सोचाई हुन्थ्यो उनीहरुको। तर, अचेल मानिसहरु निकै पानी खाइरहेका छन्। विकसित देशहरुमा पानीका बोतलहरुको माग दैनिक बढिरहेकै छ। नेपालमा पनि पानीको माग बढ्दो छ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालले गत आर्थिक वर्षमा मात्रै विदेशबाट झण्डै डेढ करोड रुपैयाँ बराबरको ४ लाख २६ हजार लिटर पानी आयात गरेको छ। यस्तो पानी विशेषगरी पाँचतारे होटेलहरुमा खपत हुन्छ।
नेपाल समय
धेरै पानी खाएपछि छाला चम्किलो बन्छ, स्वास्थ्य राम्रो हुन्छ, तौल घट्छ जस्ता कुराहरु पनि इन्टरनेट र पत्रपत्रिकामा प्रशस्तै पढ्न पाइन्छ। धेरैले दिनमा आठ गिलास ९२४० मिलीलीटरको एक गिलास पानी खानुपर्ने सल्लाह दिन्छन्।
तर यो नियम कहाँबाट आयो? कसले दियो यस्तो सल्लाह? किनभने कुनै वैज्ञानिक अनुसन्धानले यस्तो दाबी गरेको छैन। यसको रहस्य पुराना दुई सल्लाहभित्र लुकेको छ।
सन् १९४५ मा अमेरिकाको फूड एण्ड न्यूट्रिशन बोर्ड अफ नेशनल रिसर्च काउन्सिलले वयस्क व्यक्तिले प्रत्येक क्यालोरी खाना पचाउनका लागि एक मिलीलीटर पानी खान सल्लाह दिएको थियो।
नेपाल समय
यसको अर्थ तपाईं दुई हजार क्यालोरी खाना खानुहुन्छ भने तपाईंले दुई लिटर पानी पिउनु पर्छ। यसमा सादा पानी मात्र होइन, फलफूल, तरकारी र अन्य पेय पदार्थबाट पाइने पानीको मात्रा पनि सामेल छ। फल र तरकारीहरुमा ९८ प्रतिशतसम्म पानी हुनसक्छ।
सन् १९७४ मा मार्गरेट म्याक्विलियम्स र फ्रेडरिक स्टेयरको किताब न्यूट्रिशन फर गुड हेल्थमा प्रत्येक वयस्कलाई दैनिक ८ गिलास पानी खान सल्लाह दिइयो। तर, यि दुवै लेखकले तोकेको न्यूनतम पानीको मात्रामा फल र तरकारीबाट पाइने पानी मात्र होइन सफ्ट ड्रिंक र बियर समेतबाट हासिल हुने पानीलाई समावेश गरेका छन्।
प्रशस्त पानी खानुपर्छ भन्ने कुरामा दुई मत छैन। हाम्रो शरीरको कुल वजनको दुई तिहाई भाग पानीकै हुन्छ। यसबाट हामीले पोषक तत्व प्राप्त गर्छौं। पानीले खराब तत्वहरु शरीरबाट बाहिर निकाल्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
नेपाल समय
हाम्रो शरीरको तापमान नियमित गर्नेदेखि जोर्नीहरुको नरमपना कायम राख्नेसम्मका धेरै काम पानीले गर्छ। शरीर भित्र हुने अधिकांश रसायनिक प्रतिक्रिया पानी विना सम्भव हुँदैन।
पसिना, पिसाब र सासबाट पनि पानी शरीरबाहिर निस्किरहेको हुन्छ। त्यसैले हाम्रो शरीरमा पानीको निश्चित मात्रा कायम भइरहनुपर्छ। पानी कम भयो भने हामी डिहाइड्रेशनको शिकार हुन्छौं।
भ्रम
दैनिक ८ गिलास पानीको भ्रम विश्वभर छ। कयौं दशकदेखि चल्दै आएको यो सोचले हामीलाई जतिबेला पनि पानी खान घचघाचाई रहेको हुन्छ। जानकारहरु भन्छन्, पानी शरीरको माग अनुसार खानुपर्छ।
अमेरिकाको टफ्ट्स यूनिभर्सिटीका विशेषज्ञ इर्विन रोजेनबर्ग भन्छन, ‘मानव शरीरले पानीको सन्तुलन कायम राख्ने तरिका हजारौं वर्षको विकास प्रक्रियाबाट सिकेको छ। जब समुद्रबाट पहिलो जीव जमिनमा आयो त्यसबेलादेखि नै यसको शुरुवात भयो। आज मानिसको शरीरमा सन्तुलन बनाउने निकै विकसित र जटिल व्यवस्था छ।’
कुनै पनि स्वस्थ्य शरीरमा पानीको आवश्यकता भएको मस्तिस्कले थाहा पाइहाल्छ। अर्थात मानिसलाई प्यास लाग्छ। मस्तिस्कको एक हार्मोनले मिर्गौलालाई पनि पिसाब गाढा बनाएर शरीरबाट पानी कम निकाल्न र शरीरमा पानी बचाइराख्न निर्देशन दिन्छ। त्यसैले शरीरमा पानी कम भएको पिसाबको रंगबाट पनि थाहा हुन्छ।
बेलायतकी चिकित्सक एवम् खेलाडीहरुकी सल्लाहकार कोर्टनी किपस भन्छिन, ‘यदि तपाईंले आफ्नो शरीरको कुरा सुन्नुभयो भने उसले नै तपाईंलाई प्यास लागेको सुनाउँछ। प्यास लाग्नु भनेको पानी खान ढिलो भइसकेको भन्ने पनि होइन। हजारौं वर्षदेखि मानिसले प्यास लागेपछि पानी खाँदै आएको छ। यस्तोमा शरीरले पानीको कमी भएको संकेत दिन गलत गर्छ भन्ने सोच्नु नै गलत हो।’
प्यास लागेपछि पानी खानु नै सबैभन्दा उत्तम विकल्प हो। किनभने यसमा क्यालोरी हुँदैन। तर, हामी प्यास लागेपछि चिया, कफी, कोल्ड ड्रिंक या अन्य पेय पदार्थ खाएर पनि पानीको कमी पूरा गर्नसक्छौं। क्याफिनका केही साइड इफेक्ट भए पनि, धेरै अनुसन्धानले चिया कफीबाट हाम्रो शरीरलाई पानी प्राप्त हुने पुष्टि गरिसकेका छन्। यसैगरी रक्सी र बियरबाट पनि शरीरले पानी प्राप्त गर्छ।
पानी खानु राम्रो
वैज्ञानिकहरुले अहिलेसम्म ‘जति धेरै पानी खायो उती राम्रो’ भन्ने पुष्टि गरेका छैनन्। जब तपाईंलाई प्यास लाग्छ तब पानी खानुहोस्। यद्यपि, आवश्यकभन्दा केही धेरै पानी खाँदैमा नोक्सान भइहाल्छ भन्ने पनि छैन। यसले हामीलाई डिहाइड्रेशन अर्थात पानीको कमीबाट जोगाउँछ। पानीले मस्तिष्कलाई काम गर्न सजिलो पार्छ।
नियमित पानी खाएर शरीरको तौल कम गर्न पनि सकिन्छ। अमेरिकाको भर्जिनिया पोलिटेक्निक इन्स्टिच्यूटकी ब्रेंडा डेभी भन्छिन, ‘थोरै पानी खानेहरुको भन्दा धेरै पानी खानेहरुको तौल छिटो कम हुन्छ।’
यूनिभर्सिटी कलेज लन्डनकी बारबरा रोल्स भन्छिन, ‘यदि गुलिया पेय पदार्थको सट्टा सादा पानी खाएपछि त तौल कम हुने नै भयो।’ सूप वा शर्बतको सट्टा पानी खाँदा पनि शरीरमा कम क्यालोरी पुग्छ र तौल बढ्न पाउँदैन।
धेरै पानी खाँदा छाला स्निग्ध हुन्छ भन्ने एकथरी सोच पनि छ। तर अहिलेसम्म यसको वैज्ञानिक पुष्टि भएको छैन।
धेरै पानी खाँदा नोक्सान
दिनभर ८ गिलास पानी खाए केही नोक्सान हुँदैन। तर जतिबेला पनि पानी खाइराख्दा भने समस्या आउन सक्छ। धेरै पानी खाँदा शरीरमा सोडियमको मात्रा कम हुन पुग्छ। सोडियम कम हुँदा मस्तिष्क र फोक्सो सुनिन्छ।
डा. कोर्टनी किप्स भन्छिन, ‘हाम्रो शरीरका संकेतहरुलाई बेवास्ता गर्दै जथाभावी पानी खान थाल्ने हो भने नोक्सन हुन्छ।’
जोहाना प्याकेनह्याम बेलायतकी म्याराथन धावक हुन्। सन् २०१८ मा प्रतियोगिताका बेला उनले निकै पानी खाइन्। दौड समाप्त भएपछि पनि उनका साथीहरुले प्रशस्त पानी ख्वाए। त्यसको परिणाम पानी धेरै भएर उनी बेहोस भइन्। त्यसबेला एअर एम्बुलेन्सबाट अस्पताल लगिएकी उनी दुई दिनपछि मात्रै ब्यूँझिएकी थिइन्।
पानी कति खाने?
धेरै पानी खाने सोचले गर्दा हामीमध्ये धेरैले जहाँ जाँदा पनि पानी बोकेका हुन्छौं। कतै पुगे पनि शुरुमा पानीले नै स्वागत गरिन्छ। लन्डनका विशेषज्ञ ह्यू मोन्टगोमरीका अनुसार निकै गर्मी हुने क्षेत्रमा बस्नेलाई पनि दिनमा अधिकतम् दुई लीटर मात्र पानी आवश्यक हुन्छ।
आधा घन्टाको यात्रामा निक्लंदा पानीको जरुरी हुँदैन, भलै तपाईं पसिनाले निथ्रुक्कै किन नहुनुहोस्। बेलायतको नेशनल हेल्थ सर्भिसकी एडभाइजरीका अनुसार तपाईं दैनिक ६ देखि ८ गिलास पानी खानुहोस्। यो ६ देखि ८ गिलासमा दूध, सफ्ट ड्रिंक, चिया–कफी पनि समावेश छ।
थाहा पाइराखौं
प्यास महशुस गर्ने हाम्रो शक्ति ६० वर्षको उमेरपछि क्षिण हुँदै जान्छ। यस्तो अवस्थामा डिहाइड्रेशनको संभावना हुनसक्छ। अर्थात वृद्धावस्थामा हामीले पानी खान बढी ध्यान दिनुपर्छ।
प्रत्येक मानिसको पानीको आवश्यकता फरक हुन्छ। त्यसैले दैनिक ८ गिलास वा दुई लिटरको सूत्र सबैमाथि लागू हुँदैन। जहिले प्यास लाग्छ त्यसबेला पानी खानुहोस्।
अँ, धेरै पानी खानुको एउटै फाइदा छ। त्यो हो, तपाई बारम्बार शौचालय गइरहनुपर्छ र जाँदा आउँदा खर्च हुने क्यालोरीले तपाईंको तौल घटाउन सक्छ। -नेपाल समय अर्काइभबाट
(बीबीसी फ्यूचरमा जेसिका ब्राउनले लेखेको यो लेख अनुवाद रसाभार गरिएको हो।)
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209