काठमाडौँ : साफ च्याम्पियनशिपमा पहिलो पटक ५ गोल भएको खेल रोमाञ्चपूर्ण बनेको थियो। श्रीलङ्काले शुरूदेखि नै सातीव्र गतिमा खेल्दै नेपाली पोस्टमाथि लगातार दबाव दियो। तर खेलको ३० औँ मिनेटमा सुमन लामाले डि बक्स भित्रबाट गरेको शक्तिशाली प्रहार विपक्षी गोलरक्षकलाई छिचोल्दै गोल गरेर नेपाललाई अग्रता दिलाए। त्यसपछि खेलमा नेपालले दबाव सिर्जना भयो।
दोस्रो हाफको शुरूआतमै गोल थपेर नेपालले अग्रता दोब्बर पार्यो। वैकल्पिक खेलाडी आयुष घलानले दायाँ छेउबाट गरेको क्रसमा नवयुग श्रेष्ठले हानेको फितलो प्रहार गोलकीपरले छेकेका थिए। तर फर्केर आएको सोही बललाई कसैको निगरानीमा नरहेका अञ्जन विष्टले खाली पोस्टमा सहजै गोल गरे। निकै आक्रामक रूपमा प्रस्तुत भएको श्रीलङ्काले लगातार आक्रमण गरिरहेको थियो। दबाव स्वरूप ५६ औँ मिनेटमा मर्विन ह्यामिल्टनको गोलमा श्रीलङ्का खेलमा फर्किन प्रयास गर्यो।
ह्यामिल्टनले गोल फर्काएपछि नेपाली पोस्टमा दबाव थपिएको थियो जसलाई थेग्न नेपाली रक्षकहरूलाई अन्तिम समयसम्म हम्मेहम्मे परेको थियो। तर खेल सकिनु ४ मिनेटअगाडि आयुष घलानले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाएर खेल लगभग नेपालको पक्षमा ल्याए।उनले तेज तामाङले दिएको चलाखीपूर्ण पासमा बललाई देब्रे खुट्टाले नियन्त्रण गर्दै सुन्दर 'फिनिसिङ' गरेका थिए।
यो घलानको राष्ट्रिय टोलीबाट पहिलो गोल पनि हो। तर 'ड्रामा' अझै बाँकी थियो। खेलको इन्ज्युरी समयमा श्रीलङ्काले पेनाल्टी पायो र त्यसलाई डिलन डे सिल्भाले गोल गरेर खेल ३-२ को स्थितिमा ल्याए। तर त्यतिञ्जेल श्रीलङ्कालाई ढिला भइसकेको थियो। त्यसको डेढ मिनेटपछि खेल सकिएको सिटी बज्यो।
साफ च्याम्पियनशिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको यो दोस्रो पटक हो। यसअघि सन् १९९९ मा भारतमा भएको चौथो संस्करणमा नरेश जोशीको ह्याट्रिकमा नेपाल ३-२ गोल अन्तरले नै विजयी भएको थियो।
साफ फुटबल च्याम्पियनसिपअन्तर्गत माल्दिभ्समा जारी खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलले हराएको छ। यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सोमबार भएको खेलमा श्रीलंकालाई ३–२ ले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो।
पहिलो खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो। श्रीलंकाविरुद्ध नेपालका तर्फबाट आयुष घलान, अञ्जन विष्ट र समुन लामाले एकएक गोल गरेका छन्। लगातारको जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ।