काठमाडौँ – इजरायलमा केयरगिभरमा जान भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये १६ सय जना अर्को चरणको लागि सिफारिस भएको वैदेशिक रोजगार विभागले जनाएको छ।
वैदेशिक रोजगार विभागले बिहान इजरायलमा केयरगिभरका लागि जान चाहानेमध्येबाट १६ सय जनाको नाम सिफारिस गरेको हो । विभागले भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम सिफारिस गरेको हो ।
अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ ।
इजरायलले एक हजार कामदारलाई रोजगारीका लागि छनोट गर्नेछ । रोजगारीका लागि एक हजार जनाको कोटा भए पनि ७ हजारले परीक्षा दिएका थिए
विभागले असोज ४ देखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १६ सय जना छनोट गरी नेपालस्थित इजरायली दूतावासलाई नामावली बुझाएको छ।
रोजगारका लागि इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए।
त्यसमध्ये ६ हजार ३९७ जना लिखित परीक्षामा सहभागी भएकोमा १ हजार ३९५ जना महिला र ६ सय ४४ पुरुष गरी कुल २ हजार ३९ जनाले अंग्रेजी भाषा परीक्षा पास गरेका थिए। अन्तर्वार्तामा १८ सय तीनजना सहभागी भएका थिए। अन्तर्वार्ताबाट ११ सय २० जना महिला र ४८० जना पुरुष गरी १६ सय जनाको नाम सिफारिस भएको विभागले जनाएको छ।
सिफारिसमा परेका १६ सयलाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ ।
नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुसारे (केयरगिभर) का लागि नेपाली सहायक कामदार पठाउन लागेको हो। यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जिटुजी मोडलबाट भएको हो।