काठमाडौँ, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची परिसरभित्र नयाँ भवनसहितको जिम हल उद्घाटन गरिएको छ। प्रहरी कर्मचारीको स्वास्थ्यलाई मध्यनजर गर्दै सोमबार आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जिम हलको उद्घाटन गरेको हो।
कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । डिएसपी मल्लका अनुसार प्रहरी कर्मचारीलाई स्वस्थ राख्ने र नियमित व्यायामलाई सहज बनाउने उद्देश्यले जिम हल निर्माण गरिएको बताए ।
जिम हल भवन केही आर्थिक सहयोग र प्रहरीहरूको श्रमदानबाट बनेको हो। यसअघि प्रहरी कर्मचारीले व्यायामका लागि बाहिरका निजी जिममा महँगो शुल्क तिर्नुपर्दै आएकोमा अब भने कार्यालय परिसरमै सुविधा उपलब्ध भएपछि उनीहरूमा उत्साह देखिएको छ ।
“साँझ बिहानको समयमा व्यायामका लागि यस्तो सुविधा हुनु र खेलकुदको वातावरण सिर्जना हुनु अर्घाखाँची प्रहरीका लागि एउटा महत्वपूर्ण उपलब्धि हो,” डिएसपी मल्लले बताए ।
हाल जिल्लाभर करिब ३६० जना प्रहरी विभिन्न ठाउँमा कार्यरत छन् । जिल्ला प्रहरी कार्यालय परिसरमा मात्रै १६० जना प्रहरी कर्मचारी कार्यरत रहेको जनाइएको छ ।