Shares
Shares
महामारीका वेला आफ्नो स्वास्थ्यबारे चिन्ता लिनु स्वाभाविक हो । कस्ता खानपिनले स्वस्थ रहन सकिन्छ, महामारीबाट जोगिन के खाने÷नखाने भन्ने धेरैमा प्रश्न उठ्न सक्छ । यस्ता प्रश्न र चासोको उत्तरहरू स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी संघसंगठनले दिँदै पनि आइरहेका छन् । उनीहरूले पनि प्रायः स्वस्थ खानपान र व्यवस्थित जीवनशैलीलाई जोड दिँदै आएका छन् ।
यसैबीच यहाँ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपद्वारा जारी निर्देशिकामा कोरोना नियन्त्रणका लागि दैनिक खानपिनमा अपनाउनुपर्ने व्यवहारबारे उल्लेख छ । निर्देशिका अनुसार परिकार तयार गर्न मात्रै होइन, सामग्री खरिद गर्दा पनि ध्यान दिन जरुरी छ । जतिसक्दो ताजा र अर्गानिक (जैविक) खाद्यान्न छान्न सकिन्छ त्यति नै स्वस्थ्य परिकार तयार हुने निर्देशिकामा उल्लेख छ । यस्ता स्वस्थ परिकार परिवारसँग रमाइलो गरी खाएमा शरीरमा इम्युनिटी पावर बढ्ने हुँदा सधैँ घरको खानालाई प्राथमिकता दिन आग्रह गरेको छ । नुन, चिनी, चिल्लोको मात्रा साबिकभन्दा कम गरेर प्रयोग गर्नु उत्तम हुने र बासी खाना नखान आग्रह गरेको छ ।
परिकार पकाउदा आफूलाई आवश्यक मात्रामा मात्रै तयार गर्ने र ताजा खाना खाने कोसिस गर्नु बुद्धिमानी र स्वास्थ्यवद्र्धक मानिन्छ । खानामा प्रोटिन, भिटामिन, फाइबर पर्याप्त छ भने यसले महामारीबाट जोखिन आतिरिक्त फाइदा पुर्याउँछ । लामो समयसम्म भण्डारण गर्नका लागि प्रशोधन गरिएका खाना तथा सामग्री सकेसम्म प्रयोग नगर्न डब्लुएचओले पोषण निर्देशिकामा उल्लेख गरेको छ । कोरोना पजिटिभ भएर सेल्फ आइसोलेसनमा बसेका वेला खान मिल्ने स्वास्थ्यवद्र्धक र छिटोभन्दा छिटो रिकभरी हुने पेय पदार्थ, सुप र खानाका परिकारहरूका केही रेसेपी यहाँ उल्लेख छ ।
ब्रोकाउली कुरिलोको सुप
चाहिने सामग्री : ब्रोकाउली डाँठसहितको–३०० ग्राम, कुरिलो–१५० ग्राम, जैतुनको तेल–१० एमएल (दुई चियाचम्चा), लसुन टुक्रा गरेको–१० ग्राम, प्याज टुक्रा गरेको–१५ ग्राम, सेलरी चप गरेको–५ ग्राम, थाइम– सानो आधा मुठा, तुलसी– सानो आधा मुठा, ठूलो बदाम–१० ग्राम, गाजर टुक्रा गरेको– २० ग्राम, नुन– स्वादअनुसार, सेतो मरिचको धुलो– पिन्च, भेजस्टक– आधा लिटर, दूध– २५० एमएल, फ्रेसक्रिम–२ टेबल चम्चा ।
बनाउने विधि : सफा सुप प्यान तताएर जैतुनको तेल हाल्नुहोस् र लसुन, प्याज, सेलर, लिक, गाजर हालेर भुट्नुहोस् । अर्को सुप प्यानमा ब्रोकाउलीको डाठ, कुरिलोको छिप्पिएको डाठ, थोरै सेलर, लसुन, गाँजार, प्याज, लिक, थाइमा, चार गेडा मरिच हालेर भेज स्टक बनाउन बसाल्नुहोस् । ब्राउन कलर आउन थालेपछि काटेको ब्रोकाउली, कुरिलो हालेर अझै राम्ररी भुट्नुहोस् र तयार भएको भेज स्टक हालेर राम्ररी पकाउनुहोस् । नुन, मरिच, बदाम राखेर एकछिन पकाएपछि यसलाई केही चिसो बनाउनुहोस् र ब्ल्यान्ड गर्नुहोस् । यसलाई छानेपछि फेरि तताउनुहोस् र दूध, क्रिम हालेर राम्ररी मिक्स गरी सर्भ गर्नुस् ।
मिक्स भेज खिचडी
चाहिने सामग्री : ब्राउन राइस–१५० ग्राम, मुंगको दाल– १०० ग्राम, मिक्स भेज– २०० ग्राम, घिउ– एक चियाचम्चा, जिराको गेडा– आधा चियाचम्चा, नुन– स्वादअनुसार, भेज स्टक– ७५० एमएल, लसुन– १२ ग्राम, बेसार– आधा चियाचम्चा ।
बनाउने विधि : चामल र दाललाई पखालेर भिजाउनुहोस् र एउटा ठिक्कको प्रेसर कुकर तताएर घिउ हालेर तताउनुहोस् । जिरा र लसुन पड्काएर चामल दाल हाली केहीबेर भुट्नुहोस् । बेसार, नुन, भेजस्टक, मिक्सभेज, नुन मरिच हालेर दुई सिठी लगाउनुहोस् र पाकेपछि नियमित रूपमा लिन सकिन्छ ।
हेल्दी इम्युन बुस्टर ड्रिंक
चाहिने सामग्री : चुकन्दर–१५० ग्राम, फुजी स्याउ–२५० ग्राम, गाजर–३०० ग्राम, तुलसी–सानो मुठा, कागतीको रस–२ चियाचम्चा, कालो मरिचको धुलो– पिन्च, कालो नुन–स्वादअनुसार ।
बनाउने विधि : माथि उल्लेखित सामग्रीमध्ये स्याउ, चुकन्दर, गाजरलाई राम्ररी सफा गरेर सानोसानो चाना बनाई काट्ने र तुलसी, मिसाएर जुसर या ब्ल्यान्डरमा पेल्नुहोस् अनि छानेर कागतीको रस, मरिचको धुलो र स्वादअनुसार कालो नुन हाल्ने । यो जुस दिनहुँ बिहान एक गिलास पिउनाले रोग प्रतिरोधात्मक शक्ति बढाउन धेरै नै मद्दत पुर्याउँछ । यदि चुकन्दर र गाजरलाई ताछेर जुस निकालिएको छ भने छान्नु पनि पर्दैन ।
यो जुस एक स्वास्थ्यवर्द्धक र शरीरलाई रिफ्रेस गर्न मद्दत गर्ने ड्रिंग्स हो । जुन हामीले घरमा सहज रूपमा तयार गरेर पिउन सक्छौँ । यो जुस युवायुवतीका लागि ३५० देखि ४०० एमएल र बालबालिका र वृद्धवृद्धाका लागि २५० देखि ३०० एमएल पिउन उत्तम मानिएको छ । यही तरिका अपनाएर अन्य फ्रेस जुसहरू सुन्तला, किबी, मौसम, भोगटे, भुइँकटर, खरबुजा, मेवाको पनि जुस बनाउन सकिन्छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209