Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आस्ट्राजेनेका खोप प्रदेशमा पठाउन शुरू, सोमवारबाटै ज्येष्ठ नागरिकले दोस्रो मात्रा पाउने

आस्ट्राजेनेका खोप प्रदेशमा पठाउन शुरू, सोमवारबाटै ज्येष्ठ नागरिकले दोस्रो मात्रा पाउने

काठमाडौँ, स्वास्थ्य मन्त्रालयका अधिकारीले सोमवारबाट ६५ वर्षभन्दा माथिको उमेर समूहका नागरिकलाई आस्ट्राजेनेका खोप दिन थालिने बताएका छन्। जापान र भुटान सरकारबाट प्राप्त खोप पहिलो मात्रा कोभिशील्ड खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा दिन लागिएको हो।

जापानले आफ्नो देशमा निर्मित आस्ट्राजेनेका खोपको १६ लाख मात्रामध्ये पहिलो किस्ता नेपाललाई शनिवार हस्तान्तरण गरेको छ। काठमाडौँ स्थित जापानी राजदूत किकुटा युटाकाले उक्त खोप स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।

जापानले प्रतिबद्धता जनाएको खोपमध्ये आठ लाख आस्ट्राजेनेका खोप आइतवारसम्म नेपालमा आइपुग्ने अधिकारीले बताएका छन्।

भुटानले शुक्रवार नेपाललाई दुई लाख ३० हजार आस्ट्राजेनेका खोप पैँचोमा दिएको थियो जुन पछि नेपालले फिर्ता गर्ने अधिकारीहरूले बताउँदै आएका छन्। उनले सोमवार काठमाडौँ उपत्यकामा ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका खोप दिइने उल्लेख गर्दै सबै प्रदेशमा पठाउने काम भइरहेकाले सर्वत्र खोप अभियान सञ्चालन हुने बताए।

यसअघि मन्त्रालयले पहिलो मात्रा लिएका १३ लाख ६४ हजार ज्येष्ठ नागरिकले अक्सफर्ड-आस्ट्राजेनेकाद्वारा विकास गरिएको र भारतमा उत्पादन गरिएको कोभिशील्ड खोपको दोस्रो मात्रा प्रतीक्षा गरिरहेको जनाएको थियो।

नेपालले खरिद गरेको २० लाख खोपमध्ये १० लाख मात्रा भारतको सीरम इन्स्टिच्यूटले आपूर्ति रोकेपछि उनीहरूको पर्खाइ लामो भएको थियो।

फागुन २३ देखि चैत १० गतेसम्म पहिलो मात्रा खोप लगाएका ती ज्येष्ठ नागरिकले करिब २३ हप्तापछि दोस्रो मात्रा खोप प्राप्त गर्न लागेका हुन्। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले उक्त खोपको पहिलो र दोस्रो मात्रा आठदेखि १२ हप्ताको अन्तरमा लगाउनुपर्ने सुझाव दिँदै आएको छ।

नेपालमा शुक्रवार अपराह्णसम्म २२ लाखभन्दा बढी मानिसले पूर्ण मात्रा खोप लगाएका छन् भने ४४ लाखभन्दा बढीले एउटा मात्रा खोप लगाएका छन्। कोभिशील्ड खोपको दुइटै मात्रा लगाउनेको सङ्ख्या ४ लाख ६० हजार छ भने १८ लाख २८ हजार जनाले उक्त खोपको एउटा मात्रा मात्रै लगाउन पाएका छन्।