Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोनाले नेपाल अर्को ठूलो क्षतिको नजिक पुग्दैछ ?पुरा पढ्नुहोस

कोरोनाले नेपाल अर्को ठूलो क्षतिको नजिक पुग्दैछ ?पुरा पढ्नुहोस

काठमाडौं । साउन ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर छिट्टै आउन सक्ने संकेत गर्दै स्वास्थ्य संस्थाहरुमा अक्सिजन, शय्यालगायत आवश्यक पूर्वाधारहरु चुस्तदुरुस्त राख्न आग्रह गर्‍यो ।

पछिल्लो एकसाता लगातार संक्रमणदर बढेपछि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको थियो ।तर, डेढ महिनाअघि नै जनस्वास्थ्य विज्ञहरुले तेस्रो लहर आउने संकेत गर्दै तयारी अवस्थामा रहन सचेत गराएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा तेस्रो लहर आइनसकेपनि जोखिम बढेको देखिएको विज्ञहरु बताउँछन् ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार पाँच सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला १२ वटा रहेका छन् भने तीन सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरु २४ वटा छन् ।

यो नै जोखिम नटरेको देखाउने पर्याप्त आधार रहेको महामारी विज्ञ डा. केदार बराल बताउँछन् । समुदायमा संक्रमण रहेसम्म सधैं जोखिम हुने उनको भनाइ छ । उनका अनुसार संक्रमण लामो समयसम्म रहँदा भाइरसले रुप परिवर्तन गरी धेरै क्षति गर्न सक्ने सम्भावना रहेकाले भाइरसलाई जतिसक्दो छिटो समुदायबाट निस्तेज गर्नुपर्छ । ‘हाम्रोमा संक्रमणको ग्राफ स्थिर नभएकाले जोखिम अझै छ, किनकि संक्रमण बढ्दै छ भने खोप सबैले पाएका छैनन्’ डा. बराल भन्छन् ।

‘दोस्रो लहरमा जे-जे गल्ती गरेका थियौँ, अहिले त्यो गल्ती नदोहोर्‍याउने हो भने पहिलेजस्तो क्षति हुन्न’ संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला भन्छन् ।

महामारीको चरण लामो हुने भएकाले तेस्रो, चौथो र पाँचौ लहर आउनु अनौठो नभएको जनस्वास्थ्य विज्ञ डा. शरद वन्त बताउँछन् । समुदायबाट निमिट्यान्न नपारुञ्जेल आफ्नो रुप परिवर्तन गरी संक्रमण फैलाइरहनु नै भाइरसको प्रकृति रहेको उनको भनाइ छ ।

उनको अनुसार महामारी जुनसुकै चरणमा पुगेपनि पूर्वतयारी र भाइरसलाई नियन्त्रण गर्ने प्रयास नै महत्वपूर्ण हुन्छ । ‘निषेधाज्ञा नै गर्नुपर्छ भन्ने होइन तर समुदायभरि संक्रमण फैलिइरहँदा नियन्त्रणको प्रयास नगर्नु नै घातक संकेत हो ?’ भण्डारी भन्छन् ।

भाइरसलाई फैलने वातावरण निर्माण गर्नु घातक रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी बताउँछन् । निषेधाज्ञा खुलेसँगै समुदायस्तरमा रहेको संक्रमण नियन्त्रण गर्न र निस्तेज पार्न सरकारले कुनै भूमिका नखेल्दा ठूलो क्षति हुन सक्ने उनको भनाइ छ ।

उनका अनुसार यो नै तेस्रो लहर निम्त्याउन सरकारले गरेको ठूलो लापरवाही हो । ‘अस्पतालमा आएका बिरामीलाई मात्रै उपचार गरेर महामारी नियन्त्रण कसरी हुन्छ, खै त समुदायस्तरमा परीक्षण गरेको ?’ डा. मरासिनी प्रतिप्रश्न गर्छन् ।

डा. मरासिनीले भनेझैं समुदायस्तरमा परीक्षण नपुगेको विज्ञहरु बताउँछन् । परीक्षणको सीमितता हुँदा समुदायस्तरमा संक्रमण फैलिइरहेको उनीहरुको दाबी छ । महामारी विरुद्ध लड्न सरकार उदासिन रहेकाले तयारी अपुग रहेको डा. मरासिनी बताउँछन् । ‘भाइरसलाई लामो समयसम्म समुदायमा रहिरहन दिने हाम्रो हेलचेक्र्याइँले नै तेस्रो लहर निम्त्याउन सक्छ, तर हामी त्यसको लागि अझै तयार छैनौं’ उनी भन्छन् ।

समाजमा भइरहेको गतिविधि र भाइरसले छिटो-छिटो छिटो रुप परिवर्तन गर्ने हुनाले पनि तेस्रो लहर नजिक रहेको महामारी विज्ञ बराल बताउँछन् । महामारीमा सम्भावनाको सिद्धान्त अनुसार काम गर्नुपर्नेमा त्यो हुन नसकेको उनको भनाइ छ ।

उनी अगाडि भन्छन्, ‘अहिले अरु देशको उदाहरण हेर्दा जेपनि हुन्छ भनेर तयारी गर्ने र सचेत रहनुपर्ने अवस्था हो । तर बिडम्बना हाम्रोमा महामारी नै छैन जसरी गतिविधि भइरहेका छन् ।’

दोस्रो लहरले अझै पनि धेरै क्षति गर्ने संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन् । पछिल्लो सात दिनमा १ सय ६८ जना कोरोना संक्रमितको मृत्यु भयो । अझैपनि दैनिक दुई दर्जनभन्दा बढी संक्रमितको मृत्यु हुनु सामान्य अवस्था नरहेको उनको भनाइ छ । ‘दोस्रो लहर सुरु भएको धेरै लामो समय भइसक्यो । दैनिक यति धेरै क्षति हुनु भनेको सामान्य होइन । तेस्रो लहरका लागि लड्ने तयारी त परको कुरा अहिले दोस्रो लहर विरुद्ध लड्न पनि सरकारले चासो देखाएको देखिन्न’ डा. कोइराला भन्छन् ।

तथ्यांकको विश्लेषण गर्दा भारतमा दोस्रो लहर सुरु भएको एक महिनापछि नेपालमा पनि दोस्रो लहर सुरु भएको थियो । पछिल्लो समय भारतमा पनि संक्रमण बढेकाले नेपालमा स्वतः जोखिम बढेको छ । सोही कारण सीमा व्यावस्थापनमा ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् । ‘दोस्रो लहरमा जे-जे गल्ती गरेका थियौँ, अहिले त्यो गल्ती नदोहोर्‍याउने हो भने पहिलेजस्तो क्षति हुन्न’ डा. कोइराला भन्छन् ।

महामारीसँगसँगै अघि बढ्नलाई परीक्षण बढाउनुपर्ने डा. वन्त बताउँछन् । परीक्षण गरेर संक्रमितलाई आइसोलेट गर्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । उनका अनुसार अहिलेको अवस्थामा खोपको व्यावस्थापन र वितरण नै महामारी विरुद्ध लड्ने महत्वपूर्ण हतियार हो । ‘जनस्वास्थ्यको मापदण्डसँगै धेरै भन्दा धेरै नागरिकलाई खोप लगाउन सकियो भने ठूलो क्षतिबाट बच्न सकिन्छ’ डा. वन्त भन्छन् ।

अक्सिजन, बेड र जनशक्ति तयारी अवस्थामा राख्नुको साथसाथै महामारी नियन्त्रणका लागि आजबाट काम थाल्नुपर्ने डा. कोइराला बताउँछन् । ‘हामी उपचारात्मक सेवाको मात्रै भर पर्ने हो भने सधैं जोखिममा हुन्छौं, त्यसैले व्यापक परीक्षण र संक्रमितलाई आइसोलेट बिना महामारी रोक्न सकिन्न्’ उनी भन्छन् ।

यो खबर अनलाइन खबरबाट साभार गरिएको छ