निर्माता/निर्देशक करण जोहरले अभिनेता कार्तिक आर्यनलाई ‘दोस्ताना २’ बाट निकालेको खबरले गत साता बलिउडमा हल्लीखल्ली मच्चाएको थियो । करणको धर्मा प्रोडक्सनले आगामी दिनमा अभिनेता कार्तिकसँग कुनै काम नगर्ने खबर समेत बाहिर आयो ।करण र कार्तिकबीच मनमुटाव यतिसम्म बढ्यो कि यी दुईले इन्स्टाग्राममा अनफलोसमेत गरे । सामाजिक सञ्जालमा यी दुईमध्ये एकको पक्ष लिएर बहससमेत भए । कसैले कार्तिकलाई अव्यवसायिक भएको भने, कसैले अभिनेत्री जान्हवी कपुरसँग कार्तिकको ब्रेकअपलाई कारक माने । यो झगडाको ठोस कारणबारे हालै बलिउड हंगामाले थप जानकारीसहित बिस्तारमा लेखेको छ ।
दुई वर्षअघि 'दोस्ताना २' मा जोडिने बेला कार्तिकको पारिश्रमिक भारतीय रुपैयाँ दुई तीन करोड थियो जुन अहिले १० करोड भइसकेको छ । कार्तिकले सुरुमा करणलाई पारिश्रमिक बढाउन आग्रह गरे । फिल्म छायांकन भइसकेपछि पैसा बढाउने कुरा अव्यवसायिक लाग्यो । उनले कार्तिकलाई उनले अर्को 'मिस्टर लेले'को खेलाएर भनेर मनाउने प्रयास गरे । यो प्रस्तावमा कार्तिक पनि सहमत भइसकेका थिए । तर करणले आफूलाई जानकारी नदिई आफ्नो ठाउँमा अभिनेता विकी कौशललाई फिल्म दिएको थाहा पाएपछि कार्तिकले विश्वास गर्न सकेनन् । धर्मा प्रोडक्सनबाट निर्माण हुने शशांक कैतनको योद्धामा अभिनेता शाहिद कपुर छनोटमा परेपछि उनी निराश भए । केही समयपछि योद्धामा शाहिदले काम छोडिसक्दासमेत कार्तिकलाई कुनै पनि भूमिकामा काम प्रस्ताव आएन ।
अलिपछि करणले कार्तिकसँग क्रिकेटबारे बन्ने गुन्जन सक्सेनका निर्देशकको फिल्मका लागि प्रस्ताव राखे । फिल्म बीचमै छोड्नु नपरोस् भनेर कार्तिकले लिखित सम्झौताको माग राखे । स्रोतको हवाला दिँदै लेखिएको बलिउड हंगामाले लेखेको छ, 'यसैबीच कार्तिकले कोभिड १९ का कारण 'दोस्ताना २' छायांकनका लागि समय दिन असमर्थ भएको बताउन थाले र करणले पनि खासै दबाब दिएनन् । तर जब कार्तिक धमाका फिल्मका लागि समय दिन थाले करण निराश बने । उनीहरुले भित्री बैठक बस्यो र करणले आफ्नो असन्तुष्टि पोखे ।'
खबर अनुसार करणले कार्तिकलाई शरण शर्माको आगामी फिल्ममा सम्झौता गरेमात्र 'दोस्ताना २' मा काम गराउने शर्त राखे । एकआपसमा विश्वासको संकट बढिसकेको करणले स्क्रिप्ट र स्क्रिनप्ले लक नभइन्जेल ढुक्क हुन नसिकने बुझिसकेका थिए । करणले अप्रिल २०२१ बाट 'मिस्टर लेले'मा विकी कौशल र जान्हवी कपुरका साथ कार्तिकलाई लिएर फिल्म छायांकनका लागि तयार भएको बताए । तर कार्तिकले यो समयमा दोस्ताना २ का लागि मात्र समय मिल्ने जवाफ दिए । कार्तिकको यस्तो जवाफको आसय बुजेका करण कार्तिकसँग झोक्किए । उनी कार्तिकसँग साँच्चिकै दु:खी थिए किनकी जान्हवीले दोस्तोना २ र 'मिस्टर लेले'मध्ये एक फिल्म रोज्नुपर्ने भयो । यो मोडमा आइपुगेपछि करण र कार्तिकबीच कुराकानी हुन छोड्यो ।
करण र कार्तिकको सम्बन्ध बन्द कोठाबाट बिस्तारै सामाजिक सञ्जालमा छताछुल्ल हुन थाल्यो । यो मनमुटाव र दुरी बढ्नुमा करणले कार्तिकको अव्यवसायिकतालाई दोष दिए । अर्कोतिर कार्तिक आफू फिल्मको मुख्य आकर्षण हुँदाहु्ँदै पनि अत्यन्त न्यून पारिश्रमिक पाएको ठानिरहेका थिए । अझ करणको धर्मा प्रोडक्सनले दोस्रो फिल्ममा काम दिन वाचा पनि पूरा नगरेकोमा निराश थिए । 'कार्तिकको जान्हवीसँग ब्रेकअपका कारण उनीहरुको सम्बन्धमा पनि समस्या देखियो र यसले ठूलो झगडाको रुप लियो । अन्तमा अरु झगडाजस्तै यो विवादमा पनि पैसा केन्द्रमा आयो । अरु सबै समस्या हल हुन्थे होलान् तर अव्यवसायिकताले समस्यालाई अर्कै तहमा पुर्याइदियो । करणसँग कार्तिकलाई दोस्ताना २ बाट बर्खास्त गर्नेबाहेक अर्को विकल्प रहेन,' बलिउड हंगामाले थप लेखेको छ । कार्तिकको निस्कासनपछि 'दोस्ताना २' जान्हवी, लक्ष्य र नयाँ अभिनेताका साथमा बन्ने भएको छ ।