Shares
Shares
धान विश्वकै प्रमुख बाली मध्ये एक हो जसको वैज्ञानिक नाम ओरीजा सेटिभाले परिचित छ । विश्वकै इतिहास हेर्ने हो भने दश हजार वर्ष अगाडिदेखि नै चीन, भारत लगायतका देशहरुमा खेती हुँदै आएको र विश्वको झन्डै ९० प्रतिशत धान एसियामै खेती गरिँदै आएको छ । विश्वमै पनि ६५% भन्दा बढी जनसंख्याले चामल खाने गर्छन् । हामीले दैनिक रुपमा उपभोग गरी आएको चामल पौष्टिकता कुरा गर्ने हो भने कार्बोहाइड्रेट्स (९%), प्रोटिन (५%), भिटामिन बि-६ (५%) लगायत मिनरल्सहरु प्रशस्त मात्रामा पाइन्छ ।
मिलमा कुटेको धानभन्दा परम्परागत रुपमा हामीले ढिकीमा कुट्ने गरेको धान पौष्टिक हुन्छ । हातले वा ढिकीमा कुट्दा भिटामिन-बीको कम मात्रामा क्षति हुन्छ भने मेसिनमा कुट्दा दुइ-तिहाई र उसिन्दा एक-तिहाई भिटामिनको क्षति हुन्छ । पोलिस गरिएको चामल नियमित रुपमा खानाले थायामिन तत्वको कमी भई बेरीबेरी रोग लाग्न सक्छ । नेपाल सरकारको तथ्यांक हेर्ने हो भने यस वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ जुन अहिलेसम्मकै उच्च रहन गएको छ । आर्थिक वर्ष २०७६/०७७ को धान उत्पादनको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७५/०७६ वर्षको तुलनामा उत्पादनमा सामान्य गिरावट आएको देखिन्छ ।
आर्थिक वर्ष २०७५/०७६ मा करिब १४ लाख ९२ हजार हेक्टर जमिनमा धान उत्पादन ५६ लाख १० हजार मेट्रिक टन रहेको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा करिब १४ लाख ५९ हजार हेक्टर जमिनमा धान उत्पादन ५५ लाख ५१ हजार मेट्रिक टन रहेको छ । उत्पादकत्वको हिसाबले हेर्ने हो भने आव २०७६/७७ सालमा १.१७ प्रतिशतले बढेको देखिन्छ । तथ्यांकअनुसार प्रत्येक नेपालीले प्रत्येक दिन ३७० ग्राम चामलको खपत हुने गरेको छ भने जनसंख्या बृद्धिदर २.३ प्रतिशतले बढेको छ । नेपालको जनसंख्या वृद्धिलाई आधार मानेर उत्पादकत्व र वार्षिक चामल खपत हेर्ने हो भने हाम्रो खपतअनुसार उत्पादन एकदमै न्यून छ ।
झन्डै १५ लाख मेट्रिक टन चामलको वार्षिक अभाव देखिन्छ । करिब दुई-तिहाइ किसानहरु धान खेतीमा आवद्ध भएर पनि वार्षिक रुपमा झन्डै २७ अर्ब ९० करोड (आव ०७५/०७६ को तथ्यांकअनुसार) चामल आयात गर्नु साह्रै नै लाजमर्दो कुरा हो । २०१९ मा कपिलवस्तुमा धानका ४ वटा विभिन्न जात गोरखनाथ, राधा-४, रामधान र सावामा भएको अध्ययनमा हेर्ने हो भने प्रति हेक्टर औसत उत्पादन लागत रु. ७७ हजार रहेको थियो। उत्पादनको हिसाबमा हेर्ने हो भने गोरखनाथ (४.२ टन/हे), राधा-४ (३.१५ टन/हे), रामधान(४.९५ टन/हे.) र सावा (३.७५ टन/हे) दरले भएको थियो ।
तर बजारको माग र धानको गुणस्तर अनुसार हेर्ने हो भने सावा जातको धानले सबैभन्दा बढी प्रतिफल रु. १,०१,२१२.५ प्रति हेक्टर दिएको थियो जसको बेनिफिट कस्ट रेसियो १.३१२ सबैभन्दा बढी रहेको थियो । यस अध्ययनले के देखाउँछ भने किसानहरुले बजारको मागअनुसार जातको छनोट गरी लगानी गर्यो भने राम्रो प्रतिफल लिन सकिन्छ । कुल खेतीयोग्य जमिनमध्यको करिब ४७ प्रतिशत जमिनमा विभिन्न जातका धान खेती हुन्छ । समुन्द्रको सतहबाट ६० मिटर माथिदेखि विश्वको सबैभन्दा अग्लो ठाउँमा हुने मार्सी जातका धानसम्म खेती हाम्रै भूमिमा गर्न सकिन्छ । प्रविधि र स्रोत-साधनको सहजतामा कुल खेतीयोग्य जमिनको ६०% भन्दा बढी जमिनमा धान खेतीविस्तार गर्न सकिन्छ ।
हरेक प्रकारका धानका जात उत्पादन गर्न सकिने उर्वर भूमि त हाम्रो देशले बरदान स्वरूप पायो तर अस्थिर सरकार र अव्यवस्थित प्रणालीले कृषिलाई प्राथमिकतामा राखेर दिगो उत्पादनमा जोडिन नसक्नुले हामी धेरैपछि परेका छौं । नेपाली भान्सामा सबैभन्दा बढी खपत हुने खाद्यान्नका रुपमा चामल, गहुँ, मकै लगायत गेडागुडी पर्छन् । हाम्रो देशले खाद्यान्नमात्रै वार्षिक रुपमा करिब आधा खर्बको आयात गर्ने गरेको छ । त्यसैले देशको यत्रो ठुलो रकम बाहिरिनबाट बचाउन र हामी पनि स्वस्थ खानका निमित्त अब धान उत्पादनलाई मुख्य प्राथमिकता राखेर आत्मनिर्भरको अभियान लिएरै हिँड्नै पर्छ ।
नेपालका वरिष्ठ धान वैज्ञानिक प्रा.डा. भोलामान सिंह बस्नेत, वरिष्ठ कृषि प्राविधिक शिव यन्दो लगायत नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्ययनअनुसार किसानले केही सामान्य कुराहरुमा मात्रै ध्यान पुर्यायो भने केही वर्षमै नेपाल धानमा आत्मनिर्भर हुन्छ ।
१. गुणस्तरीय, धेरै फाल्ने र सुधारिएको बिउलाई प्राथमिकतामा राखेर किसानको पहुँचमा पुर्याउन सकियो भने देशको अहिलेको उत्पादनभन्दा १५% सम्म उत्पादन वृद्धि गर्न सकिन्छ । बिउ छनोट गर्दा बजारको मागअनुसार मसिनो, बासनादार र धेरै फल्ने रोज्यो भने बजार भाउपनि राम्रो पाउन सकिन्छ ।
२. किसानले बिउ मात्रै पनि राम्रोसँग भिजाउने र गुणस्तर बिउको बेर्ना सार्न सके मरुवालगायत विभिन्न आनुवंशिक र बिउबाट आउने रोग/किराबाट बोटलाई बचाउन सकिने र कुल उत्पादनमा १५-२०% सम्म वृद्धि गर्न सकिन्छ । बिउ ५ लिटर भिजाउँदा मनतातो पानीमा १ किलो नुन घोलेर भिजाउने हो भने नुनपानीको तल्लो सतहमा निरोगी र गुणस्तरीय बिउ जम्मा हुने गर्छ जसलाई हामी छनोट गर्न सक्छौं ।
३. वर्खे धानको तुलनामा चैते धान खेती कम गरिएता पनि उत्पादनको हिसाबले २०-२५% सम्म बढी फल्ने गर्छ । नेपालमा प्रत्येक वर्ष १४ देखि १५ लाख हेक्टर जमिनमा धान खेती हुँदै गर्दा चैते धान भने जम्मा १ लाख ५० हजार हेक्टरमा मात्रै हुने गरेको छ । नेपालको धानको सरदर उत्पादन हेर्ने हो भने ३.८ टन प्रति हेक्टर छ तर चैते धानको सरदार उत्पादन ४-५ टन प्रति हेक्टरसम्म फल्छ । सिंचाइ सुविधा भएको ठाउँमा यस खेतीलाई प्राथमिकता दिन सक्यौं भने एकातिर उत्पादन बढ्छ भने अर्कातिर किसानले राम्रो बजार भाउ पाउने छन् ।
४. उन्नत मलखाद र सन्तुलन पोषणको प्रयोगले मात्रै हामीले आँकलन गरेको उत्पादन सम्भव छ । नेपालका अधिकांश किसानहरु धानमा मलखाद भनेको युरियाको प्रयोग र थोरै धेरै डीएपी, पोटास भन्ने छ तर त्यसो हैन । हाइब्रिड जातका लागि उन्नत मल (कम्तीमा ४–६ टन प्रति बिघा), युरिया (१०० केजीप्रति विघा), डीएपी (४० केजीप्रति बिघा), पोटास (३० केजीप्रति विघा) अनिबार्य रुपमा हाल्नु पर्छ । युरिया हाल्दा सुरुमा ५० केजी र पछि टप ड्रेसको रुपमा २०-२५ दिनको अन्तरमा बाँकी २५-२५ केजी हाल्नु पर्छ । खेतमा युरिया कम गर्नका निमित्त बालीचक्र प्रणाली अपनाउन धैचावा कोसेबाली लगाउन सकिन्छ । सुक्ष्म तत्वको रुपमा जिंक एकदम आवस्यक पर्ने गर्छ जसलाई प्रति बिघा १३ केजीसम्म हाल्नुपर्छ । लोकल जातका धानलाई भने ६०:३०:३० (एन:पी:के) को दरले दिनु उचित हुन्छ । माथि सिफारिस मलखाद नार्कले सिफारिस गरेभन्दा बढी छ किनभने अहिले किसानले खेती गर्दै आएका विभिन्न हाइब्रिड जातका धानहरुलाई त्यसका उत्पादन क्षमता अनुसार मलखादको प्रयोग गरिनु पर्छ ।
५. धानबालीमा मुख्य लाग्ने रोगहरु मरुवा, डढुवा, खैरो थोप्ले रोग, फेद कुहिने, डाँठ कुहिने, कालो पोके आदि हुन् । यी रोगको समयमै पहिचान र नियन्त्रण गर्न सके ठुलो क्षतिबाट बच्न र कम लागतमै मनग्य फाइदा लिन सकिन्छ । माथि उल्लेखित कुराहरुमा कृषकहरुले ध्यान दिने हो भने वार्षिक रुपमा आयातित पन्ध्रौँ लाख मेट्रिक टन धान हामी सजिलैसँग रोक्न सक्छौं र धान उत्पादनमा केही वर्षमै आत्मनिर्भर बन्न सक्छौं ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209