Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

गर्मी मौसममा कुन -कुन रोगहरू लाग्छ ? यी रोगहरु बाट हामी कसरी बच्न सकिन्छ ? सबै रोगहरुको बारेमा जानकारी दिइएको छ पढ्नुहोस् ।

गर्मी मौसममा कुन -कुन रोगहरू लाग्छ ? यी रोगहरु बाट हामी कसरी बच्न सकिन्छ ? सबै रोगहरुको बारेमा जानकारी दिइएको छ पढ्नुहोस् ।

काठमाडौँ ,कोरोना भाइरस को कहर संगै गर्मि मौसम पनि सुरु भइसकेको छ गर्मि भन्नेबित्तिकै रोगहरूको मौसम पनि मानिन्छ । यो मौसममा विशेषगरी सरुवा रोगका जीवाणु तथा भाइरसको संक्रमण बढी हुने गर्छ । पछिल्लो समय विश्व तापमानमा आएको परिवर्तनले हाम्रो देशमा पनि वातवरणीय प्रभाव परेको छ । जस्तो कि गर्मी या जाडो महिना लम्बिनु, बेमौसमे गर्मी या जाडो हुनु, पानी पर्नुजस्ता कारणले सरुवा रोगको संक्रमण हुने गरेको चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार यो मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिस आदि रोग बढी सक्रिय हुन्छन् । साथै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सोप्लाइटिस, कीट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रवटाइफस, कालाजार पनि यही मौसममा सक्रिय हुन्छन् । दूषित पानी तथा खानाको कारण टाइफाइड, हेपाटाइटिस ‘ई’ र ‘ए’ झाडापखाला, हैजा र आउँजस्ता रोग लाग्छन् । गर्मी मौसममा सडेगलेका, झिंगा भन्केका, राम्रो सफाइ नभएको ठाउँमा खानाले र आफ्नो पनि सफाइ राम्रोसँग नगरेको अवस्थामा यी रोग सर्छन् । ती सरुवा रोग यस प्रकार छन् :

झाडापखाला : दूषित पानी तथा खानाले झाडापखाला लाग्छ । दूषित खाना तथा पानीमा कोलिफर्म तथा इकोलाई भिब्रियो कलेरा, कलेरालगायत संक्रमण गराउने जीवाणु हुन्छ । खाना तथा पानीको प्रयोग गर्ने क्रममा यो पेटभित्र प्रवेश गर्छ र झाडापखाला लाग्छ । झाडापखाला लागेपछि बारम्बार पातलो दिसा लाग्नुका साथै पेट दुख्छ । पखालाको समयमै उपचार नभए शरीरमा पानी र नुनको मात्रा कम भई जलवियोजन हुन्छ । जलवियोजनका कारण बिरामीको निधनसमेत हुन सक्छ । सडेगलेका खाना र दूषित पानीका कारण यो रोग लाग्ने भएकाले गर्मी मौसममा स्वच्छ पानी तथा खाना खाए यो रोगबाट बच्न सकिन्छ ।

घरबाहिर खाजा तथा खाना खाने जागिरे र मजदुर बढी मात्रामा झाडापखालाको संक्रमणमा पर्ने गरेको चिकित्सक बताउँछन् । राजधानीमा जारको पानीसमेत असुरक्षित रहेको र खानेपानीको पाइपमा ढल मिसिनु तथा यस्तो पानीको प्रयोग गरेको अवस्थामा पनि झाडापखालाको संक्रमण भएको देखिन्छ । यो रोग लागिहाले सक्दो मात्रामा जीवनजल र नरम झोलपदार्थ सेवन गर्नुपर्छ । यदि झाडापखालाको साथै वान्ता पनि छ भने अस्पताल जानु पर्ने चिकित्सक सुझाउँछन् ।

हैजा : दिसामिश्रित पानी या खानामा पाइने भिब्रियो कलेरा नामक जीवाणु पानी या खाना प्रयोगको क्रममा पेटमा पुगेपछि हैजाको संक्रमण हुन्छ । मनसुनको कारण पानीका स्रोत जमिनमुनिका पाइप, धारा तथा कुवा दूषित हुने र त्यस्तो पानी प्रयोग गरे यो जीवाणु हाम्रो पेटमा प्रवेश गर्छ । पेटमा पुगेपछि पेट दुख्ने, बारम्बार पातलो दिसा लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखिन्छन् । वान्ता र पातलो दिसा पटक–पटक हुँदा शरीरमा भएको नुन तथा पानीको मात्रा बगेर जान्छ र जलवियोजन हुन्छ । हैजा भइहाले जीवनजल बढी खाने र स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार गर्नुपर्छ । नेपालमा यो रोगको संक्रमण बर्सेनी हुने गरेकाले सफाइमा सचेत भए यो रोग लाग्नबाट बचिने चिकित्सक सुझाउँछन् ।

लक्षणहरू : दिनमा तीन पटकभन्दा बढी दिसा लाग्ने ,वान्ता हुने,दिसा गर्दा सजिलै आउने,शरीर कमजोर हुने,शरीरको मांसपेशी बाउँडिने । कसरी बच्ने : दूषित खाना तथा पानी नखाने,पानी उमालेर या शुद्ध गरेर मात्र खाने,खाना खानुअघि अनिवार्य हात धुने,शौचालय या सार्वजनिक स्थलबाट आएपछि अनिवार्य हात धुने,बाहिर खानै परे भरपर्दो ठाउँमा मात्र खाने,सडेगलेको तथा बासी खाने कुरा नखाने,व्यक्तिगत सफाइमा ध्यान दिने।

हेपाटाइटिस (जन्डिस) : दूषित पानीमा बस्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ भाइरस कुनै पनि माध्यमबाट मानिसको पेटमा प्रवेश गरे यो हेपाटाइटिस ए र ई को संक्रमण हुन्छ । हेपाटाइटिस कलेजोमा हुने रोग हो । अन्य कारणले पनि हेपाटाइटिस रोग लाग्छ तर पानीमा पाइने हेपाटाइटिस ए र ई भने गर्मीमा बढी सक्रिय हुने रोग मानिन्छ । गर्मी तथा मनसुनमा पानीको स्रोत दूषित हुने र सफाइमा कमी भए यो भाइरस मानिसको पेटमा प्रवेश गर्छ । दिसामिश्रित पानी या खानाको कारण नै यो रोग लाग्छ । रोेग संक्रमण भएपछि एक,दुई महिनामा आफैं निको भएर जान्छ । तर हेपाटाइटिस ई भाइरस गर्भवती महिलालाई संक्रमण भएको खण्डमा ३० प्रतिशत निधनहुने सम्भावना रहन्छ । गर्भवती महिलाले भने यी लक्षण देखिए तुरुन्त उपचार गराउनुपर्छ । लक्षणहरू : आँखा पहेँलो हुने,शरीर पहेंलो हुने,पेट दुख्ने,खान मन नलाग्ने,वाक–वाक लाग्ने । कसरी बच्ने ? : सफा पानी पिउने,सफा खाना खाने,व्यक्तिगत सफाइमा ध्यान दिने,

मलेरिया:सुदूरपश्चिम, कञ्चनपुरसम्मको क्षेत्रमा मलेरिया देखिन्छ । लामखुट्टेले टोकेर फाल्सिफारम भन्ने परजीवी शरीरमा संक्रमण भएपछि मलेरिया हुन्छ । यसले टोकेको १२ देखि १४ दिनभित्र मलेरियाको लक्षण देखिन्छ । समयमै उपचार नभए यसले स्नायु प्रणालीमा असर गर्ने तथा मस्तिष्क ज्वरो पनि हुन्छ । समयमै उपचार नभएमा विरामीको मृ*त्युसमेत हुन सक्छ । साथै यो रोगले मिर्गौला तथा कलेजोसमेत बिगार्छ । यो रोगको संक्रमण भएमा काम ज्वरो आउने, पसिना आउनेजस्ता लक्षण देखिन्छन् । मलेरिया हुन ज्वरो आउनै पर्छ भन्ने मान्यता पनि छ । यो रोगमा ज्वरो आउनु मुख्य लक्षण हो । यो रोगमा नेपाल सरकारले आफ्नो स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधि दिन्छ । अन्य अस्पतालमा पनि यसको उपचार हुन्छ ।

लक्षणहरू : काम ज्वरो आउने,पसिना आउने,जिउ दुख्ने । कसरी बच्ने ? : लामखुट्टेको टोकाइबाट बच्ने,घरवरिपरिको वातावरण सफा राख्ने,ज्वरो आउनेबित्तिकै मलेरिया परीक्षण गराउने,झुल लगाएर सुत्ने,पूरा बाहुलायुक्त लुगा लगाउने

डेंगु ज्वरो : डेंगु गर्मी मौसममै देखिने रोग हो । चिकित्सकका अनुसार ‘एडिस एजिप्टाई’ नामक प्रजातिको लामखुट्टेले टोक्दा डेंगु सर्छ । यो जमेको पुरानो तथा सफा पानी, एसी, गमलाको पानी, गाडीको टायर, खुला भाँडालगायत ठाउँमा फैलिने गर्छ । संक्रमित लामखुट्टेले टोकेको ५ देखि १० दिनभित्र बिरामीमा लक्षण देखिन्छ । संक्रमित लामखुट्टेले एउटै व्यक्तिलाई दोहो¥याएर टोके यसले जटिल रूप लिन्छ । यो लामखुट्टे बिहान र दिउँसो बढी सक्रिय हुन्छ । डेंगुको संक्रमण भएपछि रक्तश्राव भई प्रतिरक्षा क्षमता कम भएकाहरूको मृ*त्युसमेत हुनसक्छ । ज्वरोमा सिटामोल दिने, जलवियोजनमा स्लाइन र रगत बढी बगे रगत दिनुपर्छ । माथि उल्लेख भएकामध्ये कुनै पनि लक्षण देखिए बिरामीले चिकित्सकको सल्लाहमा मात्र उपचार गर्नुपर्छ । प्रशस्त झोल कुरा खाने र पानी पिउने गर्नु पर्ने चिकित्सकको सुझाव छ ।

लक्षणहरू : शरीर धेरै दुख्ने,कडा ज्वरो आउने,कसैलाई ज्वरो नआउने,शरीरमा रातो र नीलो धब्बा देखिने,वान्ता हुने,आन्तरिक रक्तश्राव हुने,शरीरमा पानीको मात्रा कम हुने । कसरी बच्ने ? : शरीर छोप्ने गरी लुगा लगाउने,लामखुट्टेलाई असर गर्ने मलम शरीरमा दल्ने,सफा पानी जम्ने भाँडा खुला नराख्ने,बेलैमा लामखुट्टेको लार्भा नष्ट गर्ने ।

स्क्रवटाइफस : झाडीमा बस्ने परजीवी (कीर्ना)भित्र हुने ‘ओरेन्सिया सुसुगामोसी’ नामक जीवाणु मानिसको शरीरभित्र प्रवेश गरेपछि यो रोग लाग्छ । किर्नाले टोकेको ५ देखि ६ दिनमा व्यक्तिलाई ज्वरो आउने, शरीरमा रातो बिमिरा आउने, शरीर दुख्ने, ग्रन्थि सुन्निनेलगायत लक्षण देखिन्छन् । परजीवीले टोकेको भागमा कालो दाग देखिन्छ र कतिपयको नदेखिन पनि सक्छ । यो ‘ओरेन्सिया’ जीवाणु छालाबाट शरीरभित्र पसेपछि रगतको माध्यमबाट अन्य भागमा सर्छ । समयमै उपचार नभए यो शरीरका अन्य अंग मुटु, कलेजो, फोक्सो, मिर्गौलामासमेत फैलिएर बिरामीको मृत्यु हुनसक्छ । विगतका वर्षमा यो रोग लगातार देखिएकाले यो वर्ष पनि सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।

लक्षणहरू : ज्वरो आउने,शरीरमा रातो बिमिरा आउने,शरीर दुख्ने,ग्रन्थि सुन्निने । कसरी बच्ने ? : झाडी या बारीमा जथाभावी नबस्ने र नांगो खुट्टाले नटेक्ने,घरवरिपरि सफा राख्ने,चौर या झाडीमा नसुत्ने,खेतबारीमा जाँदा पन्जाको प्रयोग गर्ने ।

कालाजार : विगतमा तराईका जिल्लामा देखिएको कालाजार पछिल्लो वर्ष पहाडदेखि हिमालसम्मका जिल्लामा फैलिएको पाइएको छ । सेनफ्लाई भनिने भसुुनाले टोके मानिसमा कालाजारको संक्रमण हुन्छ । शरीरमा प्रवेश गरेपछि यसले कलेजो, फियो हुँदै रगतका सेलहरूसमेत नष्ट गर्छ ।

सलफ्लाई भुसुनाले लेसमिनियाँसिस नामक परजीवी सार्छ । यो भुसुना गोबर, चिरा परेको पर्खाल, ओसिलो ठाउँ, मुसा बस्ने प्वाल, गाईगोठ, गुइँठा, कच्ची घर, गाईबस्तु र मान्छेसँगै बसेको घरमा बस्छ । यो भुसुनाले टोकेको २ देखि ६ महिनाभित्रमा लक्षण देखिन्छ । यो भुसुना १६ देखि ३० डिग्री तापक्रममा फैलिन्छ । यो फागुनदेखि असार÷साउनसम्म बढी सक्रिय हुन्छ । यो रोगको समयमै उपचार नभए जटिल समस्या आई मृत्युसमेत हुन सक्छ ।

यो रोग लागिसकेपछि नियमित औषधिको सेवन गरे निको हुन्छ । तर चिकित्सक र नर्सको निगरानीमा मात्र औषधि सेवन गर्नुपर्छ । हाल नेपालका अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल र मेडिकल कलेजहरूमा कालाजारको उपचार हुने गरेको छ । लक्षणहरू : दुई साताभन्दा बढी ज्वरो आउने,मान्छे दुब्लाउँदै जाने,भित्री अंग फियो र कलेजो सुन्निँदै जाने,दायाँ पेट ठूलो हुने,थोरै खाए पनि अघाए जस्तो हुने । कसरी बच्ने ? : भुसुनाको टोकाइबाट बच्ने,गाईबस्तु तथा माटाको प्वाल भएको घरका प्वाल टालेर भुसुना बस्न नदिने,घरवरिपरि सफा राख्ने

सर्पको टोकाइ : गर्मी मौसममा पानी परेको बेला सर्पले पहाड र तराई भागमा बर्सेनी टोक्ने गर्छ । पहाडको तुलनामा तराईका सर्प बढी विषालु हुन्छन् । तराईको तुलनामा पहाडी सर्प कम विषालु हुने र टोकिहाले पनि ज्यानै जाने अवस्था नहुने भएकाले सर्पले टोकिहाले धेरै आत्तिनु नहुने चिकित्सकको सुझाव छ ।चिकित्सकका अनुासर धेरैजसो बिरामी सर्पको विषले भन्दा पनि सर्पले टोक्यो भनेर आत्तिने क्रममा बेहोस हुने गरेका घटना धेरै छन् ।

टोकिहाले पनि सबै सर्पले विष छोड्न भ्याएका हुँदैनन् । पहाडी सर्पले टोक्दा ज्यान नगए पनि टोकेको अंगका लागि भने खतरनाक हुनसक्ने भएकाले टोकेपछि विभिन्न तरिकाले सतर्क हुनुपर्छ । तराईका सर्पहरू भने विषालु हुने भएकाले विष नफैलिँदै छिटोभन्दा छिटो उपचार गर्नुपर्छ । सर्पले टोकेमा आत्तिनुको सट्टा टोकेको भागमा खेलाडीले प्रयोग गर्ने (स्पोर्ट ब्यान्डेज) हल्का ब्यान्डेज प्रयोग गर्ने र हलचल गर्दा शरीरमा विष फैलिने भएकाले बिरामी हलचल नगरी बस्नुपर्छ । सर्पले टोकेपछि आफूखुसी कुनै औषधिको प्रयोग गर्नुहुँदैन । तुरुन्तै हल्का ब्यान्डेज बाँधी छिटोभन्दा छिटो अस्पताल पुग्नुपर्छ । सर्पले टोकेको भागभन्दा वरतिर ब्यान्डेज धेरै कसिलो बाँध्न नहुने डा बताउँछन् । बेस्सरी कसेमा पछि गएर रगत जम्ने प्रक्रियामा असर गर्छ । कतिपय अवस्थामा आन्तरिक तथा बाह्य रूपमा रक्तश्राव हुने, फोका पर्नेजस्ता समस्या देखिन्छन् । रगत सञ्चालन हुन नपाएको भागका कोष नष्ट हुन गई अंगसमेत काट्नुपर्ने अवस्था आउन सक्छ ।

सर्पले टोकिहाले के गर्ने ? : आत्तिनु हुँदैन,बिरामीले हलचल गर्नुहुँदैन,टोकेको भागनजिक पे्रसर ब्यान्डेजले हल्का बाँध्ने,बिरामीलाई सफा भुइँमा सुताउने,जतिसक्दो स्वास्थ्य चौकी पु¥याउने,कसिलो गरी ब्यान्डेज नबाँध्ने,टोकेको भागमा आफूखुसी कुनै औषधि प्रयोग नगर्ने ।