हेटौंडा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’ को प्रचारप्रसारका लागि सुरु भएको ओलम्पिक टर्च तीन नम्बर प्रदेशको राजधानी हेटौंडा पुगेको छ । सात वटै प्रदेशमा पुगेर प्रतियोगिताको प्रचारप्रसार गर्ने क्रममा र्याली शनिबार बेलुका हेटौंडा पुगेको हो ।
राजधानीबाट विराटनगर, जनकपुर हुँदै हेटौडा पुगेको र्याली आइतबार विहान हेटौडा हुँदै पाँच नम्बर प्रदेशको राजधानी बुटवल पुग्नेछ । मकवानपुर खेलकुद विकास समितिमा भएको कार्यक्रममा टर्च र्यालीलाई स्वागत गरिएको छ । र्यालीलाई हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख मिना लामा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना लगायतले स्वागत गरे ।
टर्च र्याली कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश पुगेर मँसिर १५ गते दशरथ रंगशाला काठमाडौंमा आईपुग्नेछ । सोही टर्चवाट ओलम्पिकको मुख्य दियो प्रज्वलन गरी १३ औं सागको उद्घाटन हुनेछ । मंसिर १५ गतेदेखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सागका विभिन्न खेलहरु हुनेछन् ।
ओलम्पिक टर्च र्यालीमा ओलम्पियन एथलेटिक्स खेलाडिहरु मुकुण्दहरि श्रेष्ठ, जीतबहादुर केसी, राजकुमारी पाण्ड, कान्छीमाया कोजु, ज्ञानबहादुर बोहरार सुटिङका टिकाराम श्रेष्ठ पनि सहभागी छन् ।