नेपालमा बैशाख चार गतेबाट सुरु हुने त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिताका लागि मलेसिया र नेदरल्याण्ड्स टिम भोली काठमाडौं आउने भएका छन । नेपाल मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिदेशी क्रिकेट सिरिजका लागि नेदरल्याण्ड्स टिम भोली विहान काठमाडौं उत्रने भएको छ । यस्तै मलेसिया टिमपनि भोली नै काठमाडौं पुग्ने बताइएको छ ।
दुबै टिम नेपाल आएपछि कोरोना परिक्षण गर्नेछन । यो प्रतियोगिताको ब्यवस्थापनको जिम्मा एक निजी कम्पनीलाई क्यानले विक्रि गरेको छ । उसले नै सबै टिमको बसोबास लगायतका सबै ब्यवस्थापन गर्नेछ । यसका साथै सो कम्पनीले एक खेलाडीलाई खेलका बेला दिनको पाँच हजार रुपैयाँ भत्तापनि दिने सर्तमा क्यानसँग सम्झौता गरेको छ ।
कोरोना रिपोर्ट नेगेटिभ आएपछि दुबै टिमले एक एक दिन मुलपानी मैदानमा प्रशिक्षण गर्ने तालिका पनि रहेको छ । यो प्रतियोगिता लागि कीर्तिपुर मैदानको तयारीपनि अन्तिम चरणमा पुर्याइएको छ । प्रतियोगिताको सबै खर्च कटाएर क्यानले १५ लाख रुपैयाँ पाउने सर्तमा ब्यवस्थापक कम्पनीसँग सम्झौता गरेको छ । प्रतियोगिताको पलिहो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्नेछ । एक टिमले दुई दुई खेल खेलेर शिर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्नेछन । विजेता टिमले कति रकम पाउने भन्ने टुंगो लगाइसकिएको छैन ।