म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको धमाखुमा व्यवस्थित संरचनासहितको खेलकुद मैदान निर्माण गरिएको छ । चिमखोलामा संघ, प्रदेश, गाउँपालिकाको बजेट र स्थानीयको जनश्रमदानबाट खेलकुद मैदान निर्माण गरिएको हो ।
यस आर्थिक वर्षमा संघीय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख, स्थानीयको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, शौचालयसहित व्यवस्थित खेलमैदान निर्माण गरेका हुन् । भूमे पूजाको अवसरमा मण्डली युवा क्लब चिमखोलाले निरन्तर मेला लगाउने चलन छ । ढलानसहितको खेल मैदानसँंगै घेराबार, स्टेज, शौचालय र टहरालगायतको पूर्वाधार संघ र प्रदेशका सांसद र स्थानीयको सहयोग तथा जनश्रमदानबाट निर्माण भएको मण्डली युवा क्लबका सचिव भीम थापा मगरले बताए । स्टेजसहितको खेलकुद मैदान निर्माणले बास्केटबल, भलिबल लगायतको खेलकुद तथा साँस्कृतिक कार्यक्रम गर्न सहज भएको क्लबका सचिव थापाले भने ।
यस आवमा रघुगंगा गाउँपालिकाले शौचालय तथा टहरा निर्माणमा ४ लाख ७५ हजार र स्थानीयको १ लाखको जनश्रमदानसहित ५ लाख ७५ हजारमा निर्माण गरिएको क्लबका सचिव थापाले जानकारी दिए । संघ र प्रदेश रगाउँपालिकाबाट बजेट विनियोजन, स्थानीयको जनश्रमदान र आर्थिक संकलनबाट ८ वटै वडामा बास्केटबल र भलिबल लगायतको कार्यक्रम गर्न मिल्ने ढलानसहितको पक्की खेलमैदान निर्माण गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । खेलकुद मैदान निर्माणले बिहान बेलुकाको समयमा गाउँका युवायुवतीलाई खेलकुद अभ्यास गर्न सहज भएको छ ।