Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अब्दुल्लाहलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।यसअघि नेपाली मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले सम्हाल्दै आएका थिए। उनकै प्रशिक्षणमा नेपालले चैत १६ गते दशरथ रंगशालामा थ्री नेसन्स कपको फाइनलमा बंगलादेशलाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो। अब्दुल्लाहलाई एन्फाको टेक्निकल कमिटीको सिफारिसमा राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाइएको हो।

गएको मंसिरमा योहान कालिनले मुख्य प्रशिक्षकबाट दिएको राजीनामा एन्फाले स्वीकृत गरेको थियो। स्वीडेनका योहान कालिन कोरोना भाइरसको संक्रमण बढेसँगै स्वदेश फर्किएका थिए। त्यसपछि उनी नेपाल आएनन्। उनको स्थानमा बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो।बालगोपालकै नेतृत्वमा नेपालले बंगलादेशसँग उसैको मैदानमा कातिक २८ गते पहिलो मैत्रीपूर्ण खेल खेलेको थियो। जहाँ नेपाल बंगलादेशसँग २-० गोलले हार्न पुग्यो। त्यस्तै, मंसिर २ गते भएको दोस्रो खेलमा भने नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।

बालगोपाल महर्जनसँग मात्रै हैन नेपालका कुनै पनि प्रशिक्षकसँग 'प्रो लाइसेन्स' छैन। विश्व फुटबल महासंघ (फिफा) ले आफ्ना सदस्य राष्ट्रलाई प्रशिक्षक राख्दा प्रो लाइसेन्स भएको अनिवार्य रुपमा राख्नुपर्ने प्रावधान ल्याएको छ। योहान कालिनले राजीनामा दिएसँगै एन्फाले प्रो लाइसेन्स भएका प्रशिक्षकको खोजी गरिरहेको थियो।

चैत ६ गते कतार फुटबल फेडेरेसनले एन्फालाई प्रो लाइसेन्स प्रशिक्षक तथा एएफसी कोचिङ इन्स्ट्रक्टरका रुपमा अब्दुल्लाहलाई नेपाल पठाएको थियो। उनै अब्दुल्लाहलाई एन्फाले राष्ट्रिय टिमको जिम्मा दिएको हो। अब्दुल्लाहलाई एन्फाले एक वर्षका लागि नियुक्त गरेको छ। उनको प्रशिक्षणमा नेपालले राम्रो नतिजा निकाल्दै गए सम्झौता अवधि बढाउन सकिने एन्फाले जनाएको छ।

पछिल्लो समयमा नेपाल विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलको लागि तयारी गरिरहेको छ। बालगोपाल महर्जनको नेतृत्वमा नेपालले करिब चार महिना तयारी गरिसकेको छ। मुख्य प्रशिक्षक बनेका अब्दुल्लाहको मुख्य चुनौती नै जुनमा हुने विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको बाँकी रहेको खेल रहेका छन्। नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग तीन खेल खेल्न बाँकी छ।