Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विश्वकप छनोट प्रतियोगिताको बाँकी खेलहरु २०२१ सम्मका लागि स्थगित !

विश्वकप छनोट प्रतियोगिताको बाँकी खेलहरु २०२१ सम्मका लागि स्थगित !

काठमाडौँ : फिफा विश्वकप–२०२२ र एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिताको बाँकी खेलहरु अक्टोबर र नोभेम्बरमा नहुने भएको छ। विश्व फुटबलको सर्वोच्च संस्था फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले अक्टोबर–नोभेम्बरको विन्डोमा हुने भनिएका छनोट खेलहरु कोरोना भाइरसका कारण स्थगित गर्ने संयुक्त निर्णय गरेका हुन्।

यसअघि छनोट खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने भनिएको थियो। तर कोरोनाका कारण अब छनोट खेलहरु २०२१ मा गर्ने फिफाले जनाएको छ। 'फिफा र एएफसीले विश्वकप तथा एसिया कप छनोट प्रतियोगिताको नयाँ मिति छलफल गरेर पछि सार्वजनिक गर्नेछ,' फिफाको भनाइ छ।

अक्टोबर र नोभेम्बरमा हुने भनिएको छनोटका लागि नेपालले भदौ १ देखि तयारी सुरु गर्न लागेको छ। त्यसका लागि अखिल नेपाल फुटबल संंघ (एन्फा) ले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्वारेन्टिनमा रहेका खेलाडीहरुको कोरोनाको परीक्षण गर्न स्वाब संकलन समेत गरिएको छ।

दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ। ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्ने तय छ।

नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ। समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।

नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।

विश्वव्यापी बनेको कोरोनाका कारण गत चैत ४ गतेबाट एन्फाले सचिवालयसमेत बन्द रहने गरी सम्पूर्ण फुटबल गतिविधि बन्द गरेको थियो। त्यसयता सम्पूर्ण फुटबल गतिविधि स्थगित भएका थिए।