एजेन्सी – युरोपियन राष्ट्र इटालीको शीर्ष डिभिजनको लिग इटालियन सिरी ‘ए’ फुटबल आजदेखि सुरु हुँदैछ । इटालीमा १२ जुनदेखि कोप्पा इटालिया फर्किएपनि सिरी ‘ए’ भने आजदेखि सुरु हुन लागेको हो। इटालियन फुटबल फेडेरेसन (एफएआइजीसी) ले सिरी ‘ए’ शुरु गर्नुअघि कोपा इटालिया आयोजना गरेको थियो । १७ जुनमा भएको फाइनलमा नेपोलीलाई सिरी ‘ए’ को शीर्षस्थानमा रहेको युभेन्टसलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै छैटौ पटक कोपा इटालिया च्याम्पियन बनेको थियो ।


त्यसअघि १२ र १३ जुनमा भएको सेमिफाइनलको दोस्रो लेगपछि युभेन्टसले एसी मिलानलाई तथा नेपोलीले इन्टर मिलानलाई पराजित गर्दै फाइनलमा स्थन बनाएको थियो ।सिरी ‘ए’ को पहिलो दिन दुई खेल हुँदैछ । टोरिनो र पार्माबीच राति ११ः१५ बजे तथा हेलास भेरोना र काग्लिएरीबीच राति १ः३० बजे प्रतिस्पर्धा हुँदैछ । घरेलु टोली टोरिनो पार्मालाई पराजित गर्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । तर, अंक तालिकामा माथि रहेको पार्मामाथि जित निकाल्न टोरिनोलाई कठिन हुन सक्नेछ । टोरिनो २७ अंक जोडेर १५औं स्थानमा रहँदा पार्मा ३५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।


यता, पार्मा घरेलु टोलीलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । जित निकाल्न सकेको अवस्थामा पार्मा सातौ स्थानमा उक्लन सक्नेछ । यद्धपि हेलास भेरोनाको खेलको नतिजाले पनि प्रभाव पार्न सक्नेछ ।अर्काे खेलमा अंक तालिको आठौं स्थानमा रहेको हेलास भेरोनाले घरेलु मैदानमा काल्गिएरीको आतिथ्यता गर्दै छ । घरेलु मैदानमा जित हात पार्न सके भेरोना सातौ स्थानमा उक्लने छ । हार या बराबरीले अरु खेलको नतिजाले अंक तालिका निर्धारण गर्नेछ । ३२ अंक जोडेर १२औं स्थानमा रहेको काल्गिएरीले भेरोनालाई पराजित गर्न सके १०औं स्थानमा उक्लनेछ । हार या बराबरीले सोही स्थानमा रहनेछ ।
सिरी ‘ए’ को २६औं चरणको खेलपछि युभेन्टस ६३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ६२ अंक जोडेर लाजियोले युभेन्टसलाई पछ्याइरहेको छ । इन्टर मिलान ५४ अंक जोडेर तेस्रो स्थानमा छ । सिरी ‘ए’ ३ अगस्टमा सकिनेछ ।