Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फिफा विश्वकप छनोटको खेलहरु खेल्न प्रशिक्षण सुरु गर्ने तयारी

फिफा विश्वकप छनोटको खेलहरु खेल्न प्रशिक्षण सुरु गर्ने तयारी

काठमाडौं (हाम्रो खेलकुद)– विश्वकप छनोटको तयारी सुरु गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत सरकारको अनुमति लिन प्रयास थालेको छ ।

एन्फा कार्यसमितिको मंगलबार बसेको आपतकालिन बैठकले जुलाईमा राष्ट्रिय फुटबल टोलीको तयारी सुरु गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार एन्फाले राखेपलाई पत्राचार गर्दै युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सम्बन्धित अन्य निकायबाट अनुमति लिन प्रयास थालिएको राष्ट्रिय टोलीका व्यवस्थाक मधुसुदन प्याकुरेलले जानकारी दिए ।

प्याकुरेलका अनुसार साउनको सुरुवातबाट प्रशिक्षण सुरु गर्ने गरि अनुमति मागिएको बताए । राष्ट्रिय टोलीको प्रशिक्षण अघि खेलाडीहरुको पिसिआर प्रशिक्षणका लागि पनि राखेपमार्फत पहल भइरहेको उनले जानकारी दिए । खेलाडीलाई एन्फा एकेडेमीकै होस्टलमा राख्नुका साथै अन्य सुरक्षा सतर्कता अपनाईने तयारी भइरहेको पनि एन्फा केन्द्रीय सदस्य समेत रहेको प्याकुरेलले जानकारी दिए ।

एसियाली फुटबल महासंघ (एएफसी) ले असोज २२ गते विश्व कप छनोटको स्थगित खेल्ने यसअघि नै जानकारी गराइसकेको छ । विश्वभर महामारीको रुप लिइरहेको कोभिड १९ का कारण चैतमा हुनु पर्ने विश्व कप छनोट स्थगित भएको थियो । नेपालले विश्व कप छनोटका अब ३ वटा खेल खेल्न बाँकी छ । ती सबै खेल दशरथ रंगशालामा हुनेछन् ।तयारी र अन्य विषयमा छलफल गर्न शुक्रबार खेलाडी, प्रशिक्षक र सम्बन्धित व्यक्तिहरुबीच अनलाइन बैठक बसेर छलफल भएको एन्फाले जनाएको छ । छलफलका क्रममा खेलाडीले चाडो भन्दा चाडो विश्व कप छनोटका लागि तयारी थाल्न सुझाव दिएका थिए ।

व्यक्तिगत रुपमा फिट हुने प्रयास गरेपनि म्याचका लागि भने तयार हुन केहि समय लाग्ने बताएको प्याकुरेलले बताए । सो छलफलमा स्वीडेनमा रहेका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिन, अष्ट्रेलियामा रहेका प्राविधिक निर्देशक ग्यारी फिलिप्स, फिजियो आविष्कार पुडासैनी र डाक्टर राजु डंगोल पनि सहभागी थिए ।

प्रशिक्षक कालिन र फिलिप्सले कोरोना १९ को संक्रमण झन् झन् बढेको अवस्थामा रहेकोले फिफा र डब्लुएचओको निर्देशनका लागि अनिवार्य रुपमा पालना गरि प्रशिक्षण थाल्नुपर्ने सुझाएका बताइएको छ । त्यस्तै फिजियो पुडासैनी र डाक्टर डंगोलले पनि खेलाडीको स्वास्थ्यलाई लिएर सर्तकता अपनाईनेमा आश्वस्त पारे ।