एजेन्सी । कोपा इटालियाको उपाधिका लागि नेपोली र युभेन्टस भिड्दै छन् । फाइनल खेल स्टाडियो ओलम्पिको मैदानमा नेपाली समय अनुसार आज राती १२ः४५ बजे सुरु हुनेछ । दुवै टोली सिजनको आफ्नो पहिलो उपाधि उचाल्ने दाउमा छन् । दुवै टोली सेमिफाइनलको दोस्रो लेग बरारबी खेल्दै उपाधिका लागि फाइनल प्रवेश गरेका थिए ।
युभेन्टसले एसी मिलानविरूद्ध एलियन्ज स्टेडियममा गोलरहित बराबरी खेलेको थियो भने नेपोलीले घरेलु मौदानमा इन्टर मिलानसँग १–१ को बराबरी खेलेको थियो । नेपोली २०१४ पछि आफ्नो पहिलो कोपा इटालिया उपाधिको खोजीमा छ ।
इन्टरविरूद्ध गोल गर्दै ड्रिएस मार्टेन्स नेपोलीको इतिहासमा सर्वाधिक गोलकर्ता बने । यसअघि यो कीर्तिमान क्लबका पूर्वकप्तान मारेक हमसिकले राखेका थिए । मार्टेन्स यस खेलका लागि पनि प्रमुख खेलाडी हुनेछन् । त्यस्तै युभेन्टसका लागि स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो प्रमुख खेलाडी हुनेछन् । उनले ६ वर्षमा युभेन्टसलाई पाँचौं कोपा इटालियाको उपाधि दिलाउन मद्दत गर्नेछन् ।
युभेन्टसले कोपा इटालियाको उपाधि सर्वाधिक १३ पटक जितेका छन् । बुफोनले आफ्नो करियरमा पाँचपटक कोपा इटालियाको उपाधि जितेका छन् । यदि उनले नेपोलीसँगको खेल जिते रोबर्टो मान्सिनीसँग ६ पटक कोपा इटालिया जित्ने खेलाडीको रेकर्डलाई बराबरी गर्ने छन् ।