एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडालले आउदो समरसँगै बार्सिलोना छाड्ने निर्णय गरेका छन् । बार्सिलोनाले रिलिज गर्न चाहेको अवस्थामै भिडालले छाड्ने निर्णय गरेपनि उनलाई अहिलेसम्म कुनै पनि क्लबले औपचारिक प्रस्ताव राखेको छैन ।
चिलीका ३२ वर्षीय भिडालले बार्सिलोनामा यो सिजन लगातार पहिलो रोजाईमा स्थान बनाएपनि मन जित्ने खेल पस्कन सकेका थिएनन् । उनले यो सिजन ६ गोल गरेका छन् । उनका एजेन्ट फर्नान्डो फेलिसभिचले यो कदम चाल्न सहज भएको र उनलाई चर्चित क्लबले नै अनुबन्ध गर्नेमा विश्वस्त रहेको बताएका छन् ।
भिडाल अनुबन्ध गर्न इटालियन क्लब इन्टर मिलानले बढी चासो देखाइरहेको छ । बार्सिलोनामा उनको सम्झौता अर्काे वर्षको समरसम्म रहेको छ । तर, बार्सिलोनाले अर्जेन्टिनी तथा इन्टर मिलानका फरवार्ड लोउटारो मार्टिनेज र ब्राजिल तथा फ्रेन्च क्लब पीएजसीका स्टार फरवार्ड अनुबन्ध गर्नको लागि भिडालसहित ८ जना खेलाडीलाई बेचेर रकम जम्मा गर्ने मनासय बनाएको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।
२०१८ मा जर्मन महारथी बायर्न म्युनिखबाट भिडाल तीन वर्षको सम्झौता गर्दै बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि ८५ खेलमा ९ गोल गरेका छन् । यसै सिजनमा डच मिडफिल्डर फ्रान्की डि जोङको आगमनसँगै भिडाललाई बार्सिलोनामा पहिलो रोजाईमा पर्न निकै संघर्ष गर्नुपरेको थियो । सोही कारण पनि बार्सिलोनाले भिडाललाई रिलिज गर्ने निर्णय गरेको हो । उनी आफ्नो नयाँ गन्तव्यको खोजी गरिरहेका छन् ।
इन्टर मिलानले १८ मिलियन पाउन्डसम्ममा भिडाललाई अनुबन्ध गर्न उत्सुक रहेको बताइएको छ । चिलीकै एलेक्सिस सान्चेज फेलिसभिचकै माध्यमबाट इन्टर मिलान पुगेकाले पनि भिडालको इन्टर मिलान यात्रा सहज हुने अनुमान गरिएको छ ।