रोम : बेल्जियमको राष्ट्रिय टोलीका प्रभावशाली स्ट्राइकर रोमेलु लुकाकुले भविष्यमा आफू व्यावसायिक फुटबल खेल्न इङ्ल्यान्ड फर्कने सम्भावना नरहेको बताएका छन्। भविष्यमा व्यावसायिक फुटबलका लागि पुनः इङ्लिस क्लबमा आबद्ध हुने आफ्नो चाहना पनि नरहेको उनले बताए।
लुकाकु हाल इटालियन सिरिए क्लब इन्टर मिलानमा आबद्ध छन्। त्यसअघि निकै लामो समयसम्म उनले विभिन्न इङ्लिस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए। उनी म्यानचेस्टर युनाइटेडबाट सन् २०१९ को अगस्टमा इन्टर मिलानमा आबद्ध भएका हुन्। इन्टर मिलानमा आबद्ध हुनुअघि उनले दुई वर्ष म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए।
‘इङ्ल्यान्ड बसाइ मेरो लागि सुखद रह्यो। मैले इङ्लिस क्लबहरूबाट उत्कृष्ट फुटबल पनि खेलेँ। तर, भविष्यमा व्यावसायिक फुटबल खेल्न फेरि इङ्ल्यान्ड नै फर्कन्छु जस्तो लाग्दैन’, २६ वर्षीय लुकाकु भन्छन्। इङ्लिस क्लबहरूमध्ये पनि एभर्टन आफ्ना लागि सधैं प्रिय रहने धारणा पनि उनले व्यक्त गरे।
सन् २०१३/१४ सिजन एभर्टनबाट खेलेका लुकाकु त्यसपछि तीन वर्ष सोही क्लबमा आबद्ध भएका थिए। एभर्टन छाडेर नै उनी सन् २०१७ मा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए। ‘मैले इङ्ल्यान्डका विभिन्न क्लबबाट फुटबल खेलेँ तर, एभर्टन मलाई सबैभन्दा मनपर्ने क्लब हो। मलाई अहिले पनि एभर्टनको माया लाग्छ’, लुकाकुले भनेका छन्।
एभर्टन र म्यानचेस्टर युनाइटेडका अतिरिक्त उनले इङ्लिस क्लब चेल्सी र वेस्ट ब्रोमविचबाट पनि व्यावसायिक फुटबल खेलेका थिए। बेल्जियन क्लब एन्टरलेच्टबाट सन् २०११ मा चेल्सीमा आबद्ध भएका लुकाकु सन् २०१४ सम्म त्यहाँ रहे। त्यसबीचमा उनले सन् २०१२/१३ सिजन वेस्ट ब्रोमविचबाट लोन (ऋण) मा खेलेका थिए।
लुकाकुले आफू अहिले सान सिरोमै रमाइरहेको बताए। ‘इन्टर मिलान मेरा लागि उपयुक्त क्लब हो। अहिले म यही क्लबमा रमाइरहेको छु’, लुकाकु भन्छन्। पहिलो सिजनमै उनले इन्टर मिलानमा उत्कृष्ट प्रदर्शन पनि गरेका छन्। यो सिजन उनले इन्टर मिलानका लागि विभिन्न प्रतियोगितामा २३ गोल गरिसकेका छन्। हाल कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण इटालियन सिरिए पनि स्थगित छ।
सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा लुकाकुले आफू भविष्यमा एन्डरलेच्ट फर्कन सक्ने सम्भावना भने रहेको प्रतिक्रिया दिए। उनको जवाफले पक्कै पनि एन्डरलेच्टका समर्थकलाई हर्षित तुल्याएको हुनुपर्छ। एन्डरलेच्ट त्यही क्लब हो जहाँबाट उनले आफ्नो व्यावसायिक खेल जीवनको सुरुआत गरेका थिए।