काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल देशका अधिकांश क्षेत्रमा बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा मधेस र सुदूरपश्चिमका एक–दुई स्थानमा वर्षा भइरहेको छ।
आज दिनभर र राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा व्यापक वर्षाको सम्भावना छ। कोशी र बागमतीका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम रहेको महाशाखाले जनाएको छ।
महाशाखाले प्रभावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा कृषि, स्वास्थ्य, पर्यटन, सडक र हवाई यातायातमा पर्न सक्ने असरलाई ध्यानमा राख्न सर्वसाधारणलाई आग्रह गरेको छ।