Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मनसुन प्रतिकार्य तयारी पूरा, जोखिम क्षेत्रमा सुरक्षा निकाय परिचालन भएको सरकारको दाबी

मनसुन प्रतिकार्य तयारी पूरा, जोखिम क्षेत्रमा सुरक्षा निकाय परिचालन भएको सरकारको दाबी

काठमाडौँ । सरकारले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापन तथा प्रतिकार्यका सबै तयारी पूरा भइसकेको जनाएको छ। सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि गृहमन्त्री सुधन गुरुङले जोखिमयुक्त क्षेत्रमा सुरक्षा निकायहरू परिचालन गरिसकिएको जानकारी दिए।

उनका अनुसार विपद् व्यवस्थापनका लागि आवश्यक सबै पूर्वतयारी पूरा भएको छ भने आवश्यकता परे हेलिकप्टरसमेत परिचालन गर्ने योजना तयार गरिएको छ। उनले सडक अवरुद्ध भए तत्काल खुलाउन सकिने गरी आवश्यक पूर्वाधार र संयन्त्र तयारी अवस्थामा राखिएको बताए।

मन्त्री गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा नागरिक सेवामा सक्रिय रूपमा खटिन र गलत काम गर्ने जोसुकैलाई पनि उन्मुक्ति नदिने गरी कडाइ गर्न निर्देशन दिएको उल्लेख गरे।

प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाबारे छलफल भएको जानकारी दिए। उनका अनुसार यस वर्ष सरदरभन्दा कम तर एकै स्थानमा बढी वर्षा हुने सम्भावना रहेकाले सोहीअनुसार तयारी गरिएको छ।

प्राधिकरणको कार्ययोजनाअनुसार यस वर्षको मनसुनजन्य विपद्बाट देशभर करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ।