काठमाडौँ । लगातारको वर्षापछि गएको पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मंगलबारदेखि नरहरिनाथ गाउँपालिका–१ को लालीघाट–भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल र पचालझरना गाउँपालिका–४ को घाटपारी क्षेत्रमा सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा तीन सयभन्दा बढी यात्रु विभिन्न स्थानमा अलपत्र परेका छन्। कर्णाली करिडोर हुँदै यात्रा गरिरहेका सवारीसाधन पनि ठाउँ–ठाउँमा रोकिएका छन्।
प्रहरीका अनुसार निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन कठिन भइरहेको छ। बिहानैदेखि डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास भए पनि झन्डै तीन किलोमिटर क्षेत्रमा लेदो र पहिरो थुप्रिएकाले काम प्रभावित भएको छ।
सडक बन्द हुँदा बिरामी, परीक्षार्थी तथा अत्यावश्यक कामका लागि यात्रा गरिरहेका नागरिक लालीघाट, रेगिल, सान्नीगाड र खुलालु क्षेत्रमा रोकिएका छन्। वर्षा नरोकिएकाले सडक सञ्चालन कहिले हुने भन्ने अझै निश्चित हुन सकेको छैन।