Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेलाई आज पनि बयान लिइदैँ, चितवन पनि लैजाने

रवि लामिछानेलाई आज पनि बयान लिइदैँ, चितवन पनि लैजाने

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज पनि बयान लिईंदै छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा शुक्रबार पनि उनको प्रहरी र सरकारी वकिलले बयान लिएका थिए । शुक्रबार नसकिएकाले आज पनि बयान लिइने प्रहरीले जनाएको छ । लामो समय देखी प्रहरी हिरासतमा रहेका लामिछानेको बयान लिन आलटाल गरेको रास्वपाले आरोप लगाउँदै आएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गैरकानुनी रूपमा करोडौँ रकम गोर्खा मिडियामा लगिएका आरोप उनीमाथी छ ।

लामिछानेले सो कम्पनीको प्रबन्ध–निर्देशक भएकाले चेकमा हस्ताक्षर गरेर खर्च गरेको, तर पैसा सहकारीबाट आएकोबारे जानकारी नभएको दाबी गर्दै आएका छन् । संसदीय छानबिन समितिले सहकारीबाट पैसा ल्याउने क्रममा लामिछानेको भूमिका नभएको, तर खर्च गर्दाको जिम्मेवारी लिनुपर्ने उल्लेख गरेको छ ।

प्रहरीले संगठित अपराधसहित ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा उनीमाथि अनुसन्धान गरिरहेको छ । कास्की र रूपन्देहीमा प्रहरीले उनको बयान लिइसकेको छ भने काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको थियो।

उनीमाथि काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान भइरहेको छ।स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौँमा ल्याएर बयान लिइएको छ । ओखलढुङ्गा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् । रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यसअघि रविलाई रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । पोखराको सुर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, वीरगञ्जको सानो पाइला, काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरूबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड रुपैयाँ गएको संसदीय छानबिन समितिले देखाएको थियोे । सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ । प्रहरीले भने रविलाई काठमाडौँ बाट चितवन लैजाने तयार गरेको छ । रास्वपा अहिले उपनिर्वाचनमा होमिए पछि सभापति लामिछानेको रिहाईका लागी दबाबमुलक कार्यक्रम भने गर्न सकिरहेको छैन । चुनाव लगतै आफ्नो अभियानमा फर्कने रास्वपाले जनाएको छ ।