Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जनकपुरमा ट्राफिक सुधारका नयाँ व्यवस्थापन लागु

जनकपुरमा ट्राफिक सुधारका नयाँ व्यवस्थापन लागु

काठमाडौँ । धनुषा जिल्लामा ट्राफिक व्यवस्थापन सुधार गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न योजनाबद्ध पहलहरूअघि बढाएको छ। प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको नेतृत्वमा प्रविधिमैत्री र प्रभावकारी ट्राफिक व्यवस्थापनमा जोड दिँदै जनकपुरमा सुधारका काम सुरु गरिएको हो।

ट्राफिक प्रहरीका अनुसार कार्यालयको गेटमा डिजिटल डिस्प्ले बोर्ड जडान गरिएको छ भने जनकपुरका विभिन्न चोकमा हालसम्म ४३ वटा निगरानी क्यामेरा जडान गरिएको छ। यसले ट्राफिक निगरानी र व्यवस्थापनलाई थप प्रभावकारी बनाएको बताइएको छ।

हालै रामानन्द चोकदेखि जनक चोकसम्मको सडकलाई एकतर्फी बनाउने निर्णय सर्वपक्षीय सहमतिमा कार्यान्वयनमा ल्याइएको छ। यो निर्णयपछि विशेषगरी अस्पताल रोड क्षेत्रमा वर्षौँदेखि हुँदै आएको सवारी जामको समस्या कम भएको स्थानीयहरूले बताएका छन्।

यसैबीच बाब पेट्रोल पम्प पुल नजिक बारम्बार दुर्घटना हुने स्थानलाई ‘ब्ल्याक स्पट’का रूपमा पहिचान गरी दुर्घटना न्यूनीकरणका उपाय अपनाइएको छ। सडक विभागसँग समन्वय गरेर रम्बल स्ट्रिप, जेब्रा क्रसिङ र वाल ब्यारियर निर्माण गरिएको छ भने नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर दुर्घटनाको कारण बनेको बिजुलीको पोल हटाइएको छ। यसपछि उक्त स्थानमा दुर्घटना शून्यमा झरेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक शाहीको योजनाअनुसार रामानन्द चोकलाई नमुना चोकका रूपमा विकास गर्ने काम पनि सुरु गरिएको छ। प्रभावकारी ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण र सडक सौन्दर्यकरणका लागि सडक विभागसँग समन्वय गरी फ्लेक्सिबल स्प्रिङ पोस्ट जडान गर्ने तयारी गरिएको छ।

यस योजनाको कार्यान्वयनअघि रामानन्द चोकमै सर्वपक्षीय बैठक आयोजना गरी स्थानीय, सरोकारवाला निकाय र सम्बन्धित पक्षको समर्थन समेत लिइएको ट्राफिक प्रहरीले जनाएको छ। साथै आगामी दिनमा जनकपुरका अन्य स्थानमा पनि क्रमशः ट्राफिक व्यवस्थापन सुधार गर्ने योजना रहेको प्रहरी निरीक्षक शाहीले बताएका छन्।